भौतिकको सरुवामा चलखेलको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भाद्र १० गते करिव तीन दर्जन सिडिई र डिईहरुको सरुवा गरेको छ । मागेका र काम गर्न नसक्ने तथा दुई वर्ष पुगेकाहरुलाई पारदर्शी हिसाबले सरुवा गरिएको समाचार स्रोतले बताएको छ ।
चौरझारी सडक डिभिजन र शुक्ला सडक डिभिजनका प्रमुखले काम गर्न नसक्ने भनेर सरुवा मागे पनि चौरझारीका प्रमुख ध्रुव झाको सरुवा भएको छ भने जुम्ला सडक डिभिजन प्रमुखको पनि सरुवा हुने चर्चा चलेको छ ।
यसभन्दा अगाडि तात्कालिन भौतिक मन्त्री रेणुकुमारी यादवको पालामा मन्त्रीभन्दा तात्कालिन सचिव रविन्द्रनाथ श्रेष्ठ र मन्त्रीका ठेकेदार सल्लाहकार राजकिशोर गुप्ताको सेटिङमा मोटो रकम लिएर सरुवा हुने गरेकोमा अहिले त्यस्तो नभएको मन्त्रालय स्रोतले बताएको छ ।
आफू सरुवामा नपरेपछि असन्तुष्ट पक्षले व्यापक आर्थिक चलखेल गरी सरुवा गरिएको आरोप लगाएका छन् । दुई वर्ष पुगेर सरुवा गरिएका भरतपुर डिभिजन सडक र भक्तपुर सडकका लागि ५० लाख तथा डुम्रेवेसी–चामे सडक र गैंडाकोट, राम्दी मालढुंगा सडक योजनाका प्रमुख इन्जिनियरले ३५ लाख बुझाएर त्यहीँ नै थमौती गरेको आरोप लगाएका छन् । यी बाहेक थमौती भएका ८–९ जना इन्जिनियर र डिभिजन प्रमुखहरुले १०–१५ लाख बुझाएको चर्चा चलेको छ । सडकमा यस्ता आरोपहरु लाग्नु कुनै अनौठो नभएको जानकारहरुले बताएका छन् । सरुवा भएकाहरुलाई र थमौतीमा परेकाहरुलाई क्षेत्रीय निर्देशनालय (संघीय सुपरिवेक्षण कार्यालय) मदन भण्डारी, मध्यपहाडी र हुलाकी राजमार्ग निर्देशनालयका प्रमुखहरुलाई पैसा उठाउने जिम्मा दिइएको समाचार स्रोतले बताएको छ ।
सरुवा भएकाहरुमा शिवलाल यादव, अरुणकुमार कटुवाल, टेकराज बोहोरा, गागलकुमार भण्डारी, विनोदकुमार मौवार, सुमन योगेश, मेभराज मरासिनी, रमेश पौडेल, सुरेश पौडेल, बाबुराम सापकोटा, सजना अधिकारी, निरज ठाकुर, ईश्वरबहादुर रिजाल, आशिष थापा मगर, अर्जुनकुमार बम रहेका छन् । यसैगरी प्रकृति पोख्रेल, दानकुमार शाक्य, बद्रीप्रसाद शर्मा, मनिषकुमार साह, राजेन्द्रप्रसाद दास, सुनिलबाबु पन्त, अनुक्षा घिमिरे, प्रदीप भण्डारी, निरज शाक्य, दीपककुमार झा, शम्भुप्रसाद आचार्य, मुकुन्दप्रसाद लामिछाने, राधिका प्रजापति श्रेष्ठ, वीरेन्द्र गौतम, अञ्जु परियार, ध्रुवकुमार झा, विवश वाक सदा, रविना कोइराला, सरला न्यौपाने, कुशलता न्यौपाने र शंकर पौडेल रहेका छन् । यसअघि बुटवल, पाल्पा र हेटौंडामा नयाँ प्रमुख पठाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *