किन फेरिए गृहसचिव ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौ/ सरकारले आम निर्वाचन आउन दुई महिना बढी समय बाँकी हुँदा गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । सचिव पाण्डेलाई खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारका पालामा तात्कालीन भूमिसुधार मन्त्री पद्मा अर्यालले रोजेर मन्त्रालयमा ल्याएकी थिइन् । ओली सरकारको बर्हिगमनपछि आफू नेविसंघको राजनीतिबाट आएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई आँखामा फुलो पारेर गृहसचिवमा सरुवा भएका थिए । वामपन्थी पृष्ठभूमिका पाण्डेलाई सुनपानी छर्केर गृहमा लैजान कांग्रेस नेतृ पुष्पा भुसालले भूमिका खेलेको जानकारहरुले बताएका छन् । नेतृ भुषाल र पाण्डे अर्घाखाँची निवासी हुन् ।
भूमि व्यवस्था मन्त्रालयको सचिव हुँदा भूमाफियाहरुसँग मिलेर ताप्लेजुङ्गको एक हजार पाँच सय रोपनी सरकारी जग्गा गैर कानूनी रुपमा व्यक्तिको नाममा दर्ता गरी मोटो रकम लिएको आरोप पाण्डे माथि लागेको छ । आगामी असोज १ गते गृहसचिवकै रुपमा अष्ट्रेलिया भ्रमणमा जान लागेका पाण्डेले सरकारलाई पर्याप्त मात्रामा सहयोग नगरेको र लामो समय गृहमा बसेर पनि कुनै उपलब्धी नभएकोले सरुवा गरिएको समाचार स्रोतले बताएको छ । सरकारले आचारसंहिता लागू गर्ने तयारी गरेकै अवस्थामा प्रदेश १ का मुख्यसचिव विनोदप्रकाश सिंहलाई बालुवाटारको दबाबमा गृहसचिवमा नियुक्त गरेको छ ।
गत २०७९ असार ६ गते बढुवा भएका सचिव सिंह प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नाता पर्ने समाचार स्रोतले बताएको छ । आइजिपी सिंहले शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेलेकोले कैलालीबासी सिंहलाई पनि गृहसचिव बनाएर आम निर्वाचन सफल बनाउने सोचमा गृहमन्त्री खाँणले सचिव हेरफेर गरेको बताइएको छ । सरुवा भएका अन्य सचिवहरुमा तोयम रायलाई अख्तियारबाट उद्योग वाणिज्य तथा आपूर्ति, उद्योग वाणिज्य तथा आपूर्तिका गणेश पाण्डेलाई प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री कार्यालयका रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापालाई नियुुक्त र सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागमा तारा प्रसाद अधिकारीलाई सरुवा गरेको छ ।
यता, गृहसचिवमा सरुवा भएका सिंह गृहकै क्याडर भएकोले पाण्डेले भन्दा प्रभावकारी काम गर्न सक्ने जानकारहरुले वताएका छन् । गृहमा सचिव सिंहको प्रदेशले खैलाबैला मच्चिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *