शहरी विकास मन्त्रालय सचिवको लैनोभैंसी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ शहरी विकास मन्त्रालयका ‘डन सचिव’ भनिने रमेशप्रसाद सिंह आगामी २०७९ मंसिर ६ गते अनिवार्य अवकाशमा पर्दैछन् । आफू अवकाशमा पर्ने दिन नजिकिँदै जाँदा सचिव सिंहले मन्त्रालय मातहतका विभागीय प्रमुख र कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री मेटमणि चौधरीका लागि चुनाव खर्च जुटाउन भनी दबाब दिँदै आएका समाचार स्रोतले दाबी गरेको छ ।
आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभाको चुनावमा मन्त्री चौधरी नेकपा (एकीकृत समाजवादी) बाट दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दैछन् । संघीय निर्वाचनमा मोटो रकम खर्च हुने भएपछि सचिव सिंहले शहरी तथा भवन निर्माण विभागका महानिर्देशक सुुरेन्द्रमोहन श्रेष्ठ, बागमती सभ्यता आयोजनाको प्रमुख दिलिप भण्डारी र काठमाडौं उपत्यका विकास प्राधिकरणका नवराज प्याकुरेललाई चुनाव खर्च उठाउन दबाब दिएको समाचार स्रोतले बताएको छ ।
सचिव सिंहको आर्थिक चलखेल थाहा पाएपछि तात्कालीन मन्त्री रामकुमार झाँक्रीले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेकी थिइन् । पछि विभिन्न राजनीतिक शक्ति गुहारेर सिंह शहरीमै फर्किएका थिए । प्राविधिक सचिवहरुमध्ये सिंह र रविन्द्रनाथ श्रेष्ठ आर्थिक मामिलामा विवादास्पद मानिन्छन् । शहरी तथा भवन विभागको महानिर्देशक हुँदा आफ्नै फर्मलाई ठेक्का पारेर विवादमा परेका सिंह सुन्दरीहरुप्रति पनि आशक्त रहेको जानकारहरुले बताएका छन् ।
भवन विभागको महानिर्देशक बनाउन रामचन्द्र दंगालबाट मोटो रकम बुझेका सिंहले दुई महिना नपुग्दै गत श्रावण २६ गते हटाएका छन् । सिंहको कार्यकाल सकिन अब ५९ दिनमात्र बाँकी छ । त्यसमाथि दशैंतिहार र छठपर्वको विदाका कारण सिंहले मन्त्रालयमा ३०–३५ दिनभन्दा बढी काम गर्न पाउने छैनन् ।
शहरी विकास मन्त्रालयमा सरुवाको डोजर चलाएर कर्मचारीहरुमा आतंक मच्याएका सिंहले मन्त्रीहरुको नाममा उठाएको रकम पनि चप्काएको मन्त्रालयमा चर्चा चलेको छ । शहरी विकास मन्त्रालयलाई लैनो भैंसी बनाएर स्वार्थपूर्ति गर्दै आएका अवकाश पछि राजनीतिक नियुक्ति खान अहिल्यैदेखि नेताहरुको ढोका चाहर्न थालेको समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *