मिश्र अब सामाजिक काममा पनि

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / यही मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अब सामाजिक कार्यमा पनि लाग्ने भएका छन् । उनले पराजयलाई सहज रुपमा स्वीकार्दै आफू अबका दिनमा काठमाडौं क्षेत्र नं.१ मा परोपकारी कार्यमा समेत क्रियाशील हुने बताएका छन् । उनले २५ लाख रुपियाँको एउटा कोष खडा गरी सो कोष सो क्षेत्रमा रहेका व्यक्तिहरुको हितका लागि प्रयोग गर्ने चाहना उनले राखेका छन् ।
मिश्रले आफूले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘‘काठमाडांै क्षेत्र नं.१ बाट एक सय पच्चीस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुःखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु । गत पाँच वर्षको मेरो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन । ‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु । म त्यो शब्दमा व्यक्त गर्न सक्दिन ! यस पटक काठमाडौँ क्षेत्र नं.१ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो ।
धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ । अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म ‘कर्म गर फलको भर नपर’ भन्ने मान्यता राख्दछु । कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु । तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छ । म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु । राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ । म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ । ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं.१ का मतदाताका लागि मैले केही गर्न सकेको छैन ।
मेरो पृष्ठभूमि पत्रकारिता र परोपकारसँग जोडिएको छ । मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिन । व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं.१ का मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू.२५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं.१ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु । त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ । मेरै अग्रसरतामा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्क पनि यस्तै सानो रकमबाट शुरू गरिएको थियो र विश्वभरीका नेपाली–नेपाली मिलेर त्यसले आज सयौँ परोपकारी काम गरिसकेको छ । त्यसैगरी ‘काठमाडौँ क्षेत्र नं.१ सरोकार कोष’ ले पनि भविष्यमा यो क्षेत्र (वडा नं.१०, ११, २९ र ३१) भित्र धेरै राम्रा कामहरू गर्न सक्नेछ भन्नेमा म विश्वस्त छु । विश्वका विभिन्न मुलुकमा बस्नु हुने काठमाडौँ क्षेत्र नं.१ का तथा अन्य शुभेच्छुकहरूले सो कोषमा सहयोग गर्न सक्नुहुनेछ । सो कोषलाई कसरी औपचारिक बनाउने, कसरी सञ्चालन गर्ने र के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे म केही समयभित्र जानकारी गराउनेछु ।
निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई यो समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *