मालपोत र नापीका महानिर्देशक फेरिए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जनतासँग प्रत्यक्ष सरोकार राख्ने र सेवाग्राहीको बाह्रै महिना अत्याधिक भिडभाड हुने मालपोत कार्यालय र नापी कार्यालय अन्तरगतको विभागीय प्रमुखहरु परिवर्तन भएका छन् । सरकारको नेतृत्व परिवर्तन भएसँगै भूमी व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले पुरानो मिति राखेर सरुवा गरेकी छिन् ।
कामकाज गर्ने गरी पुस ८ को निर्णयले पुष ११ गतेको मिति राखेर विभागको महानिर्देशकमा पद्म सोती र नापीमा जनकराज जोशीलाई पठाइएको छ जबकि पुष ११ गते पुष्पकमल दाहालले शपथ लिएपछि पाँच दलीय गठबन्धन टुटेको थियो । यसअघिका मन्त्रालयका डिजी पीताम्बर घिमिरे र नापीका प्रकाश जोशीलाई मन्त्रालयमा सोती र जोशीको ठाउँमा पठाइएको मन्त्रालय स्रोतले बताएको छ ।
सरुवा भएर मन्त्रालय गएका जोशीले चुच्चे नक्शा प्रकाशित, सगरमाथाको उचाई मापन, नापी कार्यालयहरुमा अनलाइन प्रणाली लगायतका उल्लेखनीय काम गरी विभागमा तीन वर्ष बढी समय बिताएका थिए । उता, त्यति नै समय मन्त्रालयमा बसेर जोशी विभागमा सरुवा भएको समाचार स्रोतले बताएको छ । नवनियुक्त महानिर्देशकद्वय सोती र जोशीले प्रधानमन्त्री दाहालले पुस १८ र १९ गते दिएको निर्देशनअनुसार जनताको काम छिटो छरितो र सेवा प्रवाहमा सुधार ल्याउन मातहतका कार्यालयहरुमा कसरी व्यवस्थापन गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।
अहिले मन्त्री नआएको अवस्थामा सचिवले नै विभागमार्फत् कार्यालयहरुमा अनुगमन गर्नुपर्नेछ । मालपात विभागका नवनियुक्त महानिर्देशक सोती चारखाल मालपोत कार्यालय लगायतका ठाउँमा बसेर अनुभव सँगालेका व्यक्ति भएकाले सुधार हुने अपेक्षा गरिएको मन्त्रालयमा चर्चा चलेको छ । सोतीभन्दा अगाडिका महानिर्देशक घिमिरे सिडीओ हुँदै विभागको नेतृत्व सम्हालेकाले कुनै गति लिन नसकी पुरानै शैलीमा टापटिपे प्रवृत्तिमा रमाउने गरेको जानकारहरुले बताएका छन् । नवनियुक्त महानिर्देशकद्वय सोती र जोशीलाई चुनौती एवं अवसर दुबै भएकाले सुधार हुन अपेक्षा गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *