गृहमन्त्रीले खोल्लान् त भ्रष्टाचारको फाइल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पत्रकारिताको माध्यमबाट चर्चित बनेका व्यक्ति हुन् । न्यूज २४ र ग्यालेक्सी टेलिभिजनमार्फत उदाएका लामिछानेले पार्टी (राष्ट्रिय स्वतन्त्र) दर्ता गरेपछि गत मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा १३ गरी कुल २० सिट जितेको छ । प्रतिनिधसभामा चौथो ठूलो दल बनेको रास्वपालाई काँग्रेस–एमालेको कार्यशैलीबाट वाक्क दिक्क भएर जनताले राष्ट्रिय पार्टी बनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री लामिछानेबाट जनताले ठूलो आशा र भरोसा गरेका छन् । म पनि भ्रष्टाचार गर्दिन र मेरो पार्टीका सांसदहरुबाट पनि भ्रष्टाचार हुँदैन भन्ने उद्घोष गरेका गृहमन्त्री लामिछानेले भ्रष्टाचारको फाइला खोल्ने बताएका छन् । भ्रष्टाचारको फाइला खोलेर निर्मला पन्त र ३२ किलो सुनकाण्डका अपराधीहरु पत्ता लगाए उनी सफल गृहमन्त्री बन्नेछन् । महाकाली तुईनकाण्ड र भ्रष्ट नेताहरुको विरोधमा खरो रुपमा उत्रिने लामिछाने गृहमन्त्री बनेपछि केपी बा र नानीका बाविरुद्धका आक्रोशित कुराहरु ओझेलमा परेका छन् । सुशासन, भ्रष्टाचार, महँगी, कालाबजारी र बेथितिहरु नियन्त्रण गर्ने प्रमुख दायित्व गृहमन्त्रीकै हो ।
विगतमा गृहमन्त्री बनेकाहरुले तस्करको महिनाबारी बुझ्दै त्यसलाई नियन्त्रण गर्नेतर्फ ध्यानै दिएनन् । उच्चपदस्थ प्रहरीहरु एसपी, एसएसपी, डिआइजी र एआइजीको नियुक्ति सरुवा बढुवा तथा सिडीओहरुको सरुवाबाट आर्थिक लाभ लिनमै व्यस्त रहे । अब त्यो हर्कत हुन्न कि, निमुखा जनताले न्याय पाउँछन् कि भन्ने आशाको किरण पलाएको श्रोतले बताएको छ ।
प्रहरी प्रशासनबाट घुमुवाको नाममा हुने असुली, गुण्डागर्दी नियन्त्रण, कुण्डले मण्डलेहरुबाट हुने अपराधिक घटना, शान्ति सुरक्षा, सिमा क्षेत्रमा हुने तस्करी, अवैध क्रसर उद्योगलगायतका विषयमा गृहमन्त्री लामिछाने कारबाहीको लागि खुट्टा नकमाए सुशासन र सम्बृद्धिको रेखा कोरिने बताइएको छ । कसैको दबाब र प्रभावमा नपरी पीडितले न्याय पाउन सके गृहमन्त्रीको उचाई ह्वात्तै बढ्ने र पार्टीप्रति जनताको आकर्षण बढ्ने जानकारहरुले बताएका छन् । त्यसैले गृहमन्त्री लामिछानेको त्यसतर्फ ध्यान जान जरुरी रहेको समाचारमा उल्लेख गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *