सरकारले पूर्णता पाउनासाथ केही सचिव फेरिने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं /प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत पुस २६ गते विश्वासको मत लिएका छन् । अब प्रधानमन्त्री दाहालले सात दलीय (सप्तरंगी) गठबन्धनसहित तीनजना स्वतन्त्र सांसद सहितको मन्त्रिमण्डल गठन गर्ने तयारीमा जुटेका छन् । ढिलोमा माघको पहिलो हप्ता मन्त्रिमण्डलले पूर्णता पाउने समाचार स्रोतले बताएको छ ।
नवनियुक्त मन्त्रीहरुले आफ्नो उद्देश्य (स्पिरिट) अनुसार सुशासन, भ्रष्टाचार र जनताको पक्षमा काम गर्ने केही मन्त्रालयका सचिवहरु हेरफेर गर्ने बताइएको छ । जसमध्ये अर्थसचिव कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाल परिवर्तन भई सकेका छन् । प्राप्त जानकारी अनुसार शान्तिसुरक्षा तन्दुरुस्त राखी निमुखालाई न्याय प्रदान गर्न गृहसचिव विनोदप्रकाश सिंहको ठाउँमा गृहकै क्याडर एवं वरिठ सचिव एकनारायण अर्याललाई लगिने भएको छ । गृहसचिव सिंह जुनियर भएर पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा गृहमा भित्रिएका थिए । हाल श्रम तथा रोजगार मन्त्रालयको सचिव रहेका अर्याललाई स्याङ्जाली नेता गोपालमान श्रेष्ठले असहयोग गर्दा गृह जान वञ्चित भएका थिए ।
त्यसैगरी वालुवाटारकै दबाबमा शहरी विकास मन्त्रालयको सचिव बनेका सुरेश आचार्य पनि माओवादी केन्द्रको मन्त्री आए हट्ने चर्चा चलेको छ । खानेपानी सचिव मणिराम गेलाल भने त्यहीँबाट अवकाश हुने र अन्यत्र नजाने बताएका छन् । गेलाल शहरी विकास र प्रधानमन्त्री कार्यालयमा बसिसकेका छन् । सरकारले पूर्णता पाएसँगै सरुवाको लागि गृहमा जान राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि ज्यान छाडेर लागि परेका जानकारहरुले बताएका छन् ।
यता बजेट विवादमा परेका सचिव मधु मरासिनी प्रधानमन्त्री कार्यालयबाट आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । सचिव मरासिनी माओवादी निकट मानिन्छन् । निर्णय क्षमता र सुशासनका पक्षमा मरासिनी कमजोर मानिन्छन् । सरुवा हुन मरिहत्ते गर्ने अन्य सचिवहरुमा रक्षा सचिव किरणराज शर्मा र राष्ट्रिय योजना आयोगका केवल भण्डारी रहेको समाचारमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *