शिक्षा, सिप र श्रम

Nayabimarsha (Weekly Newspaper from Nepal)

रमेश ढकाल

जहाँसम्म मलाई सम्झना छ, कुरो ४६ साल असोज महिनातिरको हुनुपर्छ । बर्षायाम सकिएसँंगै खेत बारीहरु ओभाउन थालेका थिए । घर छेउमा थोरै खाली रहेको बारीमा आमालाई केही साग सब्जी लगाउन पाए तराकारी खान उती खाँचो हुँदैन भन्ने लागेर मलाई गोरु नारेर त्यो बारी जोत्न अराउनुभयो ।

आमाले बारी जोत्न अहउनु भएसँंगै मैले त्यसका लागि आवश्यक व्यवस्था मिलाए र गोरु नारे । बर्खाको खेती सकिएसँंगै गोरुहरुले जोत्ने काम नगरेको एक डेढ महिना नै भैसकेको थियोे । लामै अन्तरालपछि नारिएर फेरी जोतिनु पर्दा गोरु उति खुशी थिएनन् अर्थात् सजाएका थिएनन् । जसो तसो हप्काउँदै फकाउँदै बिस्तारै गरेर पहिलो चास जोते ।

आमाले फेरी अर्को चास पनि जोतेर पटाहा लगाएर छोडिदे भन्नु भयो । म अर्को चास जोत्दै थिए, लगभग सकिनै लागेको थियो, हलोबाट फाली फुक्लियो । यसो हेरे, करुवा खियाले खाएर भांचिएको रहेछ । अब करुवा नै भाँंचिएर बाहिर निस्किएको फालीलाई फेरि हलोमा जोड्ने काम मेरा लागि लगभग असम्भव नै थियो । खैर, त्यसरी फाली खुस्किएपछि, मैले आमालाई सुनाएँ, आमा करुवा खियाले खाएको रहेछ भाँचिएर फाली नै फुक्लियो, के गरौँ ? मेरो कुरा सुनेर, आमाले फाली फुस्कियो ! अनि त्यत्रो स्कुल पढ्ने मान्छे, त्यति जाबो फुक्लिएको फाली बनाउन जान्दैनस्् ? भनेर अनौठो आश्चर्य प्रकट गर्नुभयो ।

आमाको कुराले म एकछिन हाँसे । मेरो हाँसोले शायद मेरी निरक्षर आमाको त्यो जिज्ञासाको अज्ञानता बस उपहास गर्न खोजेको थियो होला । धन्न, स्कुल पढाई लेखाइको अनुभव नभएकी मेरी आमालाई स्कुलमा मलाई हलोमा फाली कस्न सिकाउँदैनन् आमा भनेर बुझाउनतिर भने म लागिनछु । बरु, आमाको त्यो भनाइले शायद म भित्र थोरै हौसला पलाएछ क्यार । मैले त्यो खुस्किएको फालीलाई जसरी पनि ठीक पार्न सक्नुपर्छ भन्ने ठाने ।

अनि सम्झिए त्यो पुरानो बाल्टी । जुन बाल्टी इनारबाट पानी झिक्नका लागि प्रयोग हुने गथ्र्याे । चुहिने भएपछि आमाले त्यसमा पुराना काटी कब्जा लगायता सामाग्रीहरु हालेर राख्ने गर्नु भएको थियो । त्यसमा फाली कस्न प्रयोग हुने पुराना करुवाहरु पनि हुनसक्ने भएकोले गएर हेरे । नभन्दै त्यसमा एउटा पुरानो करुवा पनि भेट्टियो ।

त्यसलाई ठोकेर जस्तो तसो हलोमा फाली सेट गरे । दोश्रो चास लगाउन बाँकी रहेको बारी जोतिसके अनि आमाले भन्नु भए अनुसार बारीमा पटाहा पनि लगाएर छोडिदिए ।

हलो जोत्न जान्नु संँगसँंगै बिग्रिएको हलोको सामान्य मर्मत पनि गर्न जान्नु त्यो समयमा जीवन निर्वाह गर्नका लागि सबैले जान्नु पर्ने एउटा आधारभूत सिप रहेछ । त्यसमा पनि म जस्तो एउटा किसानको छोराका लागि त त्यस्तो ज्ञान हुनु अझ धेरै आवश्यक रहेछ । अहिले सम्झदैछु, यदि व्यावसायिक क्षिक्षा अन्तर्गत हामीलाई ८–९ कक्षातिरै त्यतिबेला आमरुपमा खेत जोत्न प्रयोग हुने होलोका बारेमा पढाएको सिकाएको भए शायद मलाई त्यो हलोबाट फुक्लिएको फाली कस्न उति धेरै माथापच्ची गर्नुपर्ने थिएन होला ।

खैर, यो त एउटा उदाहरण मात्र हो । हिजोआज त गाउँघरतिर पनि हलोको बद्लामा खेत जोत्नका लागि ट्राक्टर नै प्रयोग हुने गरेको छ । ट्राक्टरको प्रयोगका कारण परम्परागत तरिकाले हलो जोत्ने कार्य लगभग लोप नै हुँदै गरेको अवस्थामा यो घटना उति सान्दर्भिक पनि नहोला । यतिका बर्ष स्कुल पढेर जाबो फुक्लिएको फाली बनाउन जान्दैनस् ? भन्ने मेरी आमाको त्यो आश्चर्य मिश्रित प्रतिकृयाले भने आज तीन दशकपछि पनि हाम्रो शिक्षा प्रणालीलाई गिज्याइ राखेको जस्तो लाग्छ ।

हिजो यो बुर्जुवा शिक्षाको कुनै अर्थ छैन भनेर शैक्षिक संस्थानहरु बन्द गर्दै हिंड्ने, बहिष्कार गर्न लगाउने क्रान्तिकारीहरुले पनि विभिन्न चराणमा आलोपालो गर्दै राज्य संचालनको बागडोर सम्हालन थालेको थुप्रै भैसक्यो । सञ्जोगले अहिले पनि हाम्रो देशको प्राधानमन्त्रीको कुर्सीमा कमरेड प्रचण्ड नै विराजमान हुनुहुन्छ । देशको शैक्षिक गुणस्तर भने आज पनि उस्ताको उस्तै नै छ ।

हाम्रा लाखौं भाइबहिनीहरु कलेजको डिग्री बोकेर जीवन निर्वाहाकै निम्ति खाडी मेलेशिया लगायतका देशहरुमा कडा परिश्रम गर्न बाध्य छन् । यसको अर्थ पढेलेखेका मानिसले कडा परिश्रम गर्नु हुँदैनौ भन्ने होइन, तर त्यो जीवन निर्वाहाका लागि कसैको बाध्यता भने पक्का पनि बन्नु हुँदैन ।

आजको यो अवस्थामा अझै पनि अहिलेकै शिक्षा नीतिलाई निरन्तरता दिँदै जाने हो भने हामीले देखेको समृद्ध नेपालको सपना, केवल सपनामै सीमित रहने पक्का छ ।

त्यसैले अबको शिक्षा नीति उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने खालको बन्नु पर्छ । डाक्टर, इञ्जिनियर धेरै बनाउन नसके पनि कमसेकम ड्राफ्ट सम्यान, सब–ओभरसीर, वेल्डर, फेब्रिकेटर, फिटर, प्लम्बर, इलेक्ट्रिशियन, स्टिलफिक्सर, कार्पेन्टर, मेसनदेखि नर्स, हेयरड्रेसर, ब्युटिसियन आदि त अवश्य पनि बनाउन सक्छौं ।

यदि शिक्षालाई सिप र सिपलाई श्रमसँग जोड्न सकेको खण्डमा आउँदो पुस्ताले पक्कै पनि जिविकोपार्जनका लागि हामीले जस्तो वर्षों बर्ष प्रवासमा भौतारिनुपर्ने छैन । कलेजको डिग्री गोजीमा राखेर विदेशका कमर्सियल कम्प्लेक्सहरु सफा गर्ने देखि ४०–५० डिग्रीको तातो घाममा बेल्चा ज्याक हैमर चलाउनुको बद्लामा आफ्नै मातृभूमिमा बनेल, बंगुर, गाई, बाख्रा, माछा, कुखुरा, खरायो, मौरी आदि पालेर बस्ने थिए । आधुनिक कृषि प्रविधि तथा मेसिनरीहरूको प्रयोग गरे प्रशस्त मात्रामा अन्नपात उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने थिए ।

समग्रमामा देशको शैक्षिक पाठ्यक्रम यसरी विकास हुन सकोस् ताकि एउटा माध्यामिक तहसम्मको शिक्षा पूरा गरेको विद्यार्थीले भोलि के गरी खाने होला भनेर चिन्ता गर्नु नपरोस् । अबका विद्यार्थीले हलो बनाउन जान्नु परेन तर आज प्रयोग हुने विभिन्न कृषि औजार, उपज तथा मल, बिऊ, औषधि, आदि जस्ता कुराहरुको आधारभूत ज्ञान उनीहरुमा हुन सकोस् ।

एउटा ८–१० कक्षामा पढ्ने विद्यार्थीले आफ्नो घरको बिग्रेको धारादेखि बिजुलीको फ्युज फेर्न सकोस् । पशु आहार र उपचारका बारेमा आधारभूत ज्ञान राखोस् । जल, जमिन र जङ्गलको महत्व बुझोस् ।

जलविद्युत् र जंगल हाम्रो देशका सबैभन्दा महत्वपूर्ण प्राकृतिक स्रोत हुन् । पानी, बिजुली र जडीबुटी बेचेर नै हाम्रो देश समृद्ध बन्न सक्छ । यसका लागि पहिला त हामीले यी क्षेत्रहरूमा काम गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्नु प¥यो । जसका लागि हाम्रो अहिलेको शैक्षिक पद्धति र पाठ्यक्रममा आमूल परिवर्तनको खाँचो छ ।

यसका लागि हामी आम नागरिकले पनि राजनीतिक आस्थाभन्दा माथि उठेर देशको समृद्धि तथा आम नागरिकका जनजीविकासँंग प्रतक्ष रुपमा जोडिएका यस्ता विषयहरुका बारेमा लगातार लेख्ने, बोल्ने गर्ने हो भने, सरकार तथा सम्बन्धित निकाय आफ्नो ध्यान केन्द्रित गर्न पक्का पनि बाध्य बन्ने थियो होला । (भद्रपुर–झापा, हाल दोहा–कतार dhakalrp@gmail.com)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *