का.मु.सु.ई.हरु पछि का.मु.डि.ई.हरुको उठिवास

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका कारणले लगाइएको आचारसंहिता गत चैत ३ गछेपछि हटेको छ । त्योभन्दा अगाडि गत फागुनको अन्तिम साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा एक कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेपछि इञ्जिनियरबाट डि.ई.मा बढुवा भएका नौजनाको पदस्थापना हुन सकेको छैन ।
डि.ई.को अभावमा हाल नौवटा सडकहरु इञ्जिनियरलाई का.मु. दिएर सञ्चालन गरिएको छ । नौवटा सडकहरुमा दार्चुला–टिंकर सडक योजना, सेती लोकमार्ग–उत्तरीखण्ड, हिल्सा–सिमिकोट, खुटिया–दीपायल, भेरी कोरिडोर, डिभिजन सडक चौरजहारी, डिभिजन सडक प्यूठान, डुम्रे बेसीशहर–चामे सडक, सेलेघाट, रामेछाप–साँघुटार र शहीदमार्ग राल्पा सडकमा इञ्जिनियरहरुले का.मु. योजना र डिभिजन प्रमुख बनेर काँचुली फेरेका छन् ।
यसभन्दा अगाडि हुलाकी सडक निर्देशनालय र सूर्यविनायक–धुलिखेल–बर्दीवास सडकमा का.मु. खाएकाहरुलाई मन्त्रालय र विभागमा सरुवा गरी सुपरिटेण्डेन्ट इञ्जिनियर (सुई) लाई पठाइएको छ । भौतिक मन्त्रालयमा लामो समयदेखि कन्फर्म सु.ई.हरु हुँदाहुँदै का.मु. बनाउने चलनलाई वर्तमान मन्त्री नारायणकाजी श्रेष्ठ र सचिव केशवकुमार शर्माले हटाएका छन् । अब डि.ई.मा बढुवा भएका नौजनालाई का.मु. खाएकाहरुको ठाउँमा पदस्थापना गरिने भएको छ ।
बढुवा भएकाहरुमा विनोद साह, रत्नलक्ष्मी शाक्य, दीपक रजक, नारायणप्रसाद लामिछाने, संजय पन्थी, गोविन्द दुमडु, कल्पना अधिकारी, सिंहबहादुर विष्ट र दीपेन्द्रबहादुर विष्ट रहेका छन् । भौतिक मन्त्रालयमा मन्त्री सचिव र सडक विभागका महानिर्देशकको समूहले सुधारको थालनी गरेको जानकारहरुले बताएका छन् ।
मन्त्री श्रेष्ठले कामचोर र दामचोर निर्माण व्यवसायीहरुलाई मन्त्रालयमै बोलाएर हकारेपछि निर्माण व्यवसायीहरुले रुग्ण सडक र पुल बनाउन चासो दिएको समाचार स्रोतले बताएको छ । विगतको मन्त्रीहरुभन्दा यिनै मन्त्रीबाट सडकको सुधार हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *