इनरुवा सेवा समाज गठन हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भई काठमाडौं उपत्यकामा आई बसोबास गर्दै आएका मानिसहरु संगठित हुने भएका छन् । विभिन्न चरणको छलफलमा जुटेका उनीहरुले भोलि शनिबार (चैत्र २५ गते) वृहत प्रारम्भिक भेला गरी इनरुवा सेवा समाज नामक संस्था गठन गर्ने तयारीमा जुटेका छन् ।
तयारी समितिका संयोजक गोपालप्रसाद पोखरेल भन्छन्, ‘इनरुवा र आसपासका क्षेत्रमा रही हाल काठमाडौं उपत्यकामा रहेका सबैलाई समेट्ने गरी तयारी भैरहेको छ । विभिन्न चरणमा छलफल गरी हामीहरु उक्त दिन संस्थाको औपचारिक गठनलाई सार्वजनिक गर्ने पक्षमा छौं ।’ इनरुवा थातथलो भई काठमाडौंमा आई बसोबास गर्नेहरुको संख्या उल्लेख्य रहेका कारण उनीहरुलाई एकत्रित गर्न सकिएमा सामाजिक क्षेत्रमा कार्य गर्न सहज हुने भएकाले यसरी संस्था दर्ता गर्ने तयारी भैरहेको बताइएको छ ।
इनरुवा थातथलो भै हाल काठमाडौं उपत्यकामा रहेका व्यक्तिहरुको पहिचान तथा उनीहरुका बीचमा चिनजानको व्यवस्था गर्नका लागि यो प्रयास थालिएको भनी पर्यटन बोर्डका कार्यरत सुमन घिमिरे बताउँछन् । इनरुवा थातथलो भएका व्यक्तिहरु विभिन्न क्षेत्रमा प्रतिभावान् समेत भएकाले उनीहरुको प्रतिभाको प्रस्फुटनका लागि समेत यस्तो संस्थाको आवश्यकता महसुस भएको घिमिरेको भनाइ छ ।
शनिबार काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा भेला गर्ने तयारी भएको भूवनकुमार जैनले जानकारी दिए । उनले भने, ‘सो भेलामा सहभागी हुने मानिसहरुको संख्या, पायकपर्ने स्थान र गाडी पार्किङलाई मध्यनजर गरेर उक्त पार्टी प्यालेस छानेका हांै ।’ संस्था नै गठन नभएको अवस्थामा अनुकुल हुनेले आवश्यक व्यवस्था गर्दै जाने सहमति भए बमोजिम आफू सो व्यवस्थापनमा लागिपरेको जैनले स्पष्ट पारे ।
इनरुवा थातथलो भै हाल काठमाडौं रहनेहरुमा सर्वोच्च अदालतका बहालवाला न्यायाधीशदेखि विभिन्न पेशाकर्मीहरु रहेकाले सबैलाई समेट्ने गरी तयारी थालिएको बताइएको छ । ‘यो शुरुवाति चरण हो, त्यसैले सबैलाई समेट्न सहज नभए पनि प्रयास थालिएको छ, सबैले होस्टेमा हैंसे गरे कार्यक्रमले सही उद्देश्य पहिचान गर्ने छ ।’ सञ्चारकर्मी समेत रहेका विश्वमणि सुवेदी भन्छन् ।
यो संस्था गरिनुको कारण खोतल्दै सामाजिक क्षेत्रमा कार्यरत पशुपति भण्डारी भन्छन्, ‘पहिलो कारण काठमाडौंमा रहेका व्यक्तिहरु संगठित हुनु हो भने दोस्रो कारण इनरुवा तथा इनरुवाबासीका लागि विभिन्न किसिमका सेवा, सुविधा उपलब्ध गराउनु हो ।’ उनका अनुसार काठमाडौं उपत्यकामा रहने बस्ने इनरुवा थातथलो भएका व्यक्तिहरुका बीचमा आपसी भाइचारा बढाउनुका अतिरिक्त यो संस्थाले इनरुवा केन्द्रित रहेर विभिन्न किसिमका सामाजिक कार्यहरु पनि गर्ने उद्देश्य लिएको छ ।
भेलाले निर्णय गरे अनुसार तदर्थ समिति गठन गरी त्यसलाई जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरिने बताइएको छ । उक्त संस्थामा इनरुवाका सबै वडालाई प्रतिनिधित्व हुने तथा लब्ध प्रतिशिष्ठित व्यक्तिहरुलाई सकेसम्म समेटिने बताइन्छ । उक्त संस्थालाई राजनीतिक गन्ध नआउने गरी सामाजिक क्षेत्रमा क्रियाशील गराउने लक्ष्य लिइएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *