काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकास निर्माणको मेरुदण्ड मानिए पनि विगत केही वर्षदेखि दलका नेताहरुको कमाउने अखडा बनेको छ । आकर्षक मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालय बढी बजेट भएका कारण दलका नेताहरुको रोजाईमा पर्ने गरेको बताइन्छ ।
सडक र पुल बनाउँदा तथा कर्मचारीहरुको सरुवामा चलखेल गर्न पाइने भएका कारणले दलका नेताहरु भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्न मरिहत्ते गर्दछन् । सो मन्त्रालयको आ.ब.२०७९/८० को बार्षिक बजेटको सिलिङ्ग एक खर्ब ६७ अर्ब रुपियाँ रहेको थियो । यो बजेट सडक विभाग, रेल विभाग र यातायात व्यवस्था विभागलाई बाँडचुँँड गरिएको मन्त्रालय श्रोतले बताएको छ ।
गत पुस ११ गते भौतिक पूर्वाधारमन्त्री बनेका नारायणकाजी श्रेष्ठ ९६ दिनपछि गत चैत्र १७ गते गृहमन्त्रालयमा सरुवा भएका छन् । मन्त्री श्रेष्ठको कार्यकालमा सडकको अनुगमन, सडक विभाग र यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन, सडक विभागमा सुपरिटेण्डन इन्जिनियर (सु.ई.) हरुको सरुवा र पदास्थापन तथा डि.इ.हरुको पदस्थापन बाहेक भौतिक प्रगति नभएको जानकारहरुले बताएका छन् । श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।
अब आर्थिक वर्ष समाप्त हुन तीन महिना बाँकी छ । यो समय मन्त्री ज्वालाले ब्रिफिङ लिँदा र अनुगमन गर्दैमा वित्ने बताइएको छ । वर्षायाम शुरु हुनै लाग्दा मुग्लिङ–पोखरा र नारायणघाट बुटवल सडकको अवस्था दयनीय बन्ने अनुमान गरिएको छ । यी सबै खण्डको सडक निर्माणको ठेक्का चाइनिज ठेकेदार कम्पनीलाई दिइए पनि निर्माण कार्य सुस्त हुँदा यात्रुहरुले सास्ती खेप्न बाध्य छन् ।
नारायणघाट बुटवल सडक र मुग्लिङ–पोखरा सडकको अनुगमनलाई मन्त्रालय र विभागले चासो नदिँदा यात्रुहरु मर्कामा परेको सरोकारवालाहरुले बताएका छन् ।
यता अर्थमन्त्रालयले बजेट रोक्दा ८–९ अर्ब रुपियाँ जति ठेकेदारहरुलाई भुक्तानी दिन बाँकी रहेपछि निर्माण व्यवसायीहरुले पनि जाँगर देखाएका छैनन् । यो आ.ब.मा पाइपलाइनमा रहेका सडकहरुको प्रगति ६० प्रतिशतभन्दा नबढ्ने समाचार स्रोतले जानकारी दिएको छ ।
सडक र सुु.इ.तथा डि.इ.हरुको बारेमा पूर्ण जानकार भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माकै भरोसामा यो आ.ब. बित्ने चर्चा चलेको छ । ९६ दिनको अवधिमा सडकको अनुगमन गरे पनि कामचोर घरबेटी ठेकेदार (शैलुङ कन्स्ट्रक्सन) लाई तह लगाउन नसकेका मन्त्रीश्रेष्ठको चुरीफुरी जस्तै नयाँ मन्त्री प्रकाश ज्वालाले देखाउन र गतिशील बनाउन सक्दछन् कि सक्दैनन्, त्यो हेर्न बाँकी नै छ । नयाँ मन्त्री भएकाले आशाको टुसा पलाएको स्रोतले बताएको छ ।
भौतिक मन्त्रालय नेताको कमाउने अखडा
Facebook Comments Box