कित्ताकाट खुल्यो, मालपोत र नापीलाई दशैं

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा नियमावली संशोधन गरेर एक वर्षदेखि रोकिएको जग्गा कित्ताकाट गत बैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खुलाएको छ । अर्थतन्त्र चलायमान बनाउन सरकारले अधिराज्य भरका सात सय ५३ स्थानीय निकायमा भू–उपयोग नियमावली पहिलो संशोधन २०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुलाएपछि अब मालपोत र नापीका कर्मचारी तथा घरजग्गाको कारोबार गर्नेहरुलाई बाह्रै महिना दशैं आउने र भ्रष्टाचार झन् बढ्ने भएको छ ।
जग्गालाई वर्गीकरण गरेपछि कित्ताकाट गर्न सकिने गरी सरकारले भू–उपयोग नियमावली प्रयोगमा ल्याएको थियो । एक सय ६१ वटा पालिकाले बाहेक अरु पालिकाले जग्गालाई वर्गीकरण गर्न नसकेपछि घरजग्गाको किनबेच र कित्ताकाट ठप्प भएको थियो । कित्ताकाट नहुँदा अंशवण्डा र किनेको जग्गा बिक्री वितरण बन्द भएको थियो । घरजग्गाको कित्ताकाट बन्द भए पनि मालपोत र नापीका कर्मचारीहरुले भित्रभित्रै सेटिङमा आर्थिक चलखेल गर्दै आएका थिए ।
यसको पछिल्लो उदाहरण हो– कास्की मालपोत । मालपोत र नापीका कर्मचारीहरुले लेखनदास तथा विचौलियामार्फत कार्यालय हाता बाहिर बसी होटल, रेष्टुरेन्ट र ई–बैकिङ्ग मार्फत कारोबार गर्ने गरेको जानकारहरुले बताएका छन् । कास्की मालपोत त एउटा प्रतिनिधि पात्र मात्र हो । यस्ता घटना काठमाडौं उपत्यका र बाहिरका मालपोत तथा नापी कार्यालयहरुमा भैरहेको समाचार
स्रोतले बताएको छ ।
मालपोत र नापी विभागका महानिर्देशकहरुलाई यस्ता अदृष्य रुपमा भैरहेको भ्रष्टाचारको बारेमा थाहा भए पनि थाहा नपाएजस्तो गर्ने गरेको बताइएको छ ।
स्मरणरहोस्, खुला गरिएको कित्ताकाट बाट खेतीयोग्य जमिन खण्डीकरण हुने निश्चित छ । यसका कारण नेपाल खाद्यान्नमा अझ परनिर्भर बन्नु पर्ने बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *