स्वागत नेपाल चर्चामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सामाजिक अभियन्ताको रुपमा समेत सक्रिय रहँदै आएका कानूनव्यवसायी भद्रप्रसाद नेपाल (स्वागत नेपाल) पछिल्लो समय चर्चामा आएका छन् । बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्नुपर्ने वा नपर्ने भन्ने थुनछेक बहस हुँदा नेपालले जाहेरीवालाको तर्फबाट भन्दै खाणको विपक्षमा बहस गरेपछि उनी चर्चामा आएका हुन् ।
खाणको पक्षमा विभिन्न वरिष्ठ कानूनव्यवसायीहरुले एकोहोरो रुपमा बहस गरिरहेको बेला नेपालले भने उनको विपक्षमा बोलेका थिए । नेपालले कानूनव्यवसायीको हैसियतमा बोल्ने संभावना देखेर खाणले समेत आफ्नो विरुद्धमा बहस नगर्न भनी नेपाललाई आग्रह गर्दा पनि उनले बहस गरेका थिए ।
नेपालले बाहिर राखिएका अन्य दुईजना अभियुक्तहरु र खाणलाई एउटै कसूरमा भिन्न व्यवहार भएकोमा समेत आपत्ति प्रकट गरेका थिए । इजलाशभन्दा बाहिर राखिएका अन्य दुईजना अभियुक्तहरुलाई हत्कडी लगाइएको तर खाणलाई भने बिना हत्कडी त्यो पनि कानूनव्यवसायीहरु बस्ने स्थानमा राखिएको भनी यसले अदालतमा समेत विभेदपूर्ण व्यवहार भएको भनी प्रश्न उठाएका थिए ।
स्वागत नेपाललाई बहस गर्नबाट रोक्ने प्रयास खाणबाट हुनुलाई उनको अल्पज्ञान भन्न थालिएको छ । उक्त थुनछेक बहसका क्रममा न्यायाधीशले ‘यही मुद्दामा अन्य अभियुक्तहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्ने आदेश हुँदै आएको जानकारी गराउँदै’ खाणलाई समेत हिरासतमा राखी चार दिनसम्म अनुसन्धान गर्न भनी म्याद दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *