बेचनले क–कसलाई बनाउलान् बेचैन ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भूटानी शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झा भएको खुलासा भएपछि हाईप्रोफाईल व्यक्तिहरु अरु तानिन सक्ने बताइएको छ । झाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासहित काँग्रेस–एमालेका शीर्षस्थ नेताहरुसँग सेटिङ मिलाउने काम गरेको श्रोतले बताएको छ ।
नक्कली भूटानी शरणार्थी गिरोहका सदस्य रामशरण के.सी.ले झाको नाममा दुई करोडको चेक काटेका थिए । हिमालयन बैंकको ००३०४१३२२००७० नम्बर रहेको चेक झाको खातामा के.सी.ले काटेका थिए । भारतीय नागरिक झाले सिराहामा बिहे गरी काठमाडौंमा बस्दै आएको बताइएको छ । झा जलविद्युत क्षेत्रका ठेकेदार हुन् । भारतीय दूतावास र काँग्रेस नेताहरुसँग पहुँच राख्ने झाको सम्बन्ध बालुवाटारदेखि सिंहदरबार, विद्युत प्राधिकरणको उच्च नेतृत्वसम्म रहेको जानकारहरुले बताएका छन् ।
नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीसँग ऊर्जामन्त्री हुँदा सम्बन्ध विस्तार गरेको बताइएको छ । विद्युत प्राधिकरणका ठूला ठेक्का हात पार्ने गरेका झाको आरजु राणाको भाइ भूषण राणासँग पनि व्यापारिक सम्बन्ध रहेको श्रोतले बताएको छ । विगत ४० वर्षेदेखि काठमाडौंमा बस्दै आएका झा काँग्रेसका प्रायजसो नेताहरुसँग राम्रो सम्बन्ध रहेको बताइएको छ । यी विचौलियाको कारण शीर्ष नेतृत्वको रहस्य खुल्ने डरले मुटुमा ढ्याङ्ग्रो ठोकेको चर्चा चलेको छ ।
भुटानी शरणार्थी प्रकरणमा ३३ जना विरुद्ध २६ करोड रुपियाँको बिगो दाबीसहित प्रहरीले प्रतिवेदन बुझाएको छ । फरार झालाई प्रहरीले थप अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *