लहैलहैमा लाग्दा देशको बेहाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
‘एउटा नबिग्रिकन अर्को सप्रिँदैन’ भन्ने उखान नेपाली समाजमा निकै प्रख्यात छ । चाहे त्यो व्यक्तिव्यक्तिमा होस् चाहे राष्टराष्ट्रमा । एउटा नसकिकन अर्कोमाथि जाँदै जाँदैन । व्यक्ति सकाउनका लागि उसको घरमा किचिलो बनाइदिन्छन्, राष्ट्र सकाउनका लागि राजनीतिमा । कतिपयले यो कुरा बुझ्दैबुझ्दैनन् । अरुले उचालेको भरमा उचालिने व्यक्ति होस् या राष्ट्र« त्यो धेरै बेर टिक्न सक्दैन । हिजो राजनीतिक परिवर्तन गर्ने बेलामा नेपालका नेताहरु भारतमा लुकेका थिए ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले भारतकै योजनाअनुसार राजनीति परिवर्तन गरे । पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्याइयो । नेताहरुले लुकेरै जनता उचालेर सडकमा ल्याए । त्यत्रा शहीद भए । मुलुकको अनुहार फेरिएला भनेर लागेका जनतालाई अहिले आएर थकथकी लागेको छ किनकि जनताले सोचेकोभन्दा ठ्याक्कै उल्टो गतितिर नेताहरु लागे ।
नेताहरुले आफ्नो सिद्धान्त, विचार सबै छोडेर देश बेचेरै भए पनि कमाउनुपर्छ भन्ने मात्र सोचे । अरुले शेयर दलाल गर्छन्, जग्गा दलाल गर्छन् तर हाम्रा देशका नेताहरु ‘देश दलाल’ गर्छन् । सबै खालका दलालहरुले आज मुलुक तहसनहस बनाए । नेपालको जमिन छिमेकीले मिचेका होइनन्, यी दलालहरुले बेचेका हुन् । आफैंले बेचेको जमिन फिर्ता ल्याउन अब यिनीहरुले पहल गर्छन् भनेर नेपाली जनताले नसोचे पनि हुन्छ ।
भारत र चीनले सयौं वर्ष अघिदेखि नेपालको जमिन कब्जा गर्दै आएका छन् । लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, कीर्तिमान विष्ट, मरिचमान श्रेष्ठ प्रधानमन्त्री हुँदा पनि भारत र चीनले धेरै नेपाली भूमि अतिक्रमण गरेको छ । यो क्रम अहिले पनि जारी नै छ । उनीहरु दादागिरी देखाउँदै अर्काको जमिन कब्जा गर्ने अनि नेपालका नेताहरु टुलुटुलु रमिते बनेर हेर्ने । भारत र चीनले जति नेपालको जमिन कब्जा गरेको छ, त्यो अहिलेको सदनले फिर्ता ल्याउन सक्दैन ?
अहिलेको सरकार र सांसद्हरुले भारतको दानापानी खाएका आरोप लाग्दै आएका कारण पनि यो विषयमा उनीहरु बोल्न नसक्ने अवस्थामा रहेका छन् । भारतको विरोधमा नेपाली जनताले आवाज उठाए भने यिनीहरु भारतको गुनगान गाउन थालिहाल्छन् । आफ्नो जिऊमा नेपाली पोशाक भिर्दैमा र नेपाली भाषामा बोल्दैमा सच्चा नेपाली होइँदैन । नेपाली हुनका लागि त पहिले नेपाल आमाको संरक्षण गर्न सक्नुपर्छ । नेपाली सेना शान्ति सुरक्षा दिनका लागि विभिन्न मुलुक जान्छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि शान्ति कार्यमा खटिन्छ । यो त नौटंकीजस्तो देखिँदैन र ? अहिले जति पनि सेनाको ब्यारेक छन् ती राजधानीको मुटुमा छन् । अन्य जिल्लामा पनि सदरमुकाममा ब्यारेक ठड्याइएका छन् । प्रहरी र सशस्त्र पनि सेवासुविधाको भोगी भए । जनताले तिरेको करबाट मासिक तलब खाएका छन् तर काम केही गर्दैनन् ।
छिमेकीहरुले रातारात सीमा सारेर नेपाल सिद्ध्याइरहेका छन् । सुरक्षा निकायहरु अझै पनि हात बाँधेर बसेको छ । देशको सदन हे¥यो भने ‘चिडियाखाना’ जस्तै लाग्छ । मुलुकको भूमि जोगाउने, जनताको हकहितमा आवाज उठाउनेभन्दा पनि झगडा गर्नमै सांसद्हरु व्यस्त छन् ।
एकअर्कामाथि हिलो छ्याप्नेबाहेक अरु केही गर्दैनन् । यी सांसदलाई नेपालको क्षेत्रफल कति थियो र अहिले कति छ ? भन्ने नै थाहा छैन । कोही अमेरिकन नागरिक सदनमा पुगेका छन् त कोही अमेरिकी दलाली भनेर आरोप लाग्ने गरेको छ । कसैलाई राजतन्त्रको पक्षमा भक्तिगान गाएर फुर्सद छैन । कोही पार्टीको अध्यक्षको झोले भएको प्रमाण सदनमा दिइरहेका छन् । अनि यस्ता सांसदले मुलुकको अनुहार फेर्छन् ? देशको संरक्षण गर्छन् ? जो आफ्नो खुट्टामा उभिन जान्दैन्, ऊ देशको लागि लड्ने रे !
यस्ताको हातको देशको चाबी सुम्पिनु नै गलत भएको छ । देश जोगाउनका लागि पहिले राष्ट्र««प्रति प्रेम हुनुपर्छ । जनताले विरोध नगर्ने र यिनीहरुले मौका पाए भने देश नै अन्य मुलुकलाई बेचेर हिँडिदिन्छन् । मुखमा राष्ट्रियता झुण्डाउँदैमा केही हुनेवाला छैन । काम पनि राष्ट्रियता साबित हुने गरी गर्नुप¥यो नि । यस्ता नेता पाएर नेपाली जनतालाई यतिबेला धिक्कार लाग्न थालेको छ । वास्तवमै भन्ने हो भने यिनीहरुसंग बोल्ने शैलीको समेत अभाव छ ।
सदन के हो ? र त्यसको काम के हो ? भन्ने नै सांसदहरुलाई थाहा भएन । कोही बाहिर गाली गर्न नपाएर सदनमा आएकोजस्तो देखिन्छ । कोही आफ्नो पार्टीको अध्यक्षलाई जथाभावी गाली नगर्न भन्दै सदनमा उभिएर बोल्छन् । झगडा नै गर्ने हो भने सदनमा किन आउनुप¥यो ? जनताले तिरेको कर फोकटमा खेर मात्र गइरहेको छ । साँच्नै नै भन्ने हो भने यिनीहरु दलालीभन्दा पनि गएगुज्रिएका छन् । वैदेशिक रोजगारीमा पठाउने अजेण्टहरुको इज्जत यी सांसदभन्दा धेरै छ ।
सांसदहरुलाई जनताले फुटेको आँखाले पनि हेर्न चाहँदैनन् । देशमा यत्रो आर्थिक मन्दी आएको छ । व्यापार व्यवसाय ठप्प बनेको छ । सर्वसाधारणलाई बिहानबेलुका छाक टार्नसमेत महामुस्किल छ । राजश्व उठ्न छाडिसकेको छ । विदेशी ऋण बढेको बढ्यै छ । सांसदहरु देखेर पनि अनदेखा गरिरहेका छन् । देश जटिल मोडमा छ भन्ने थाहा हुँदाहुँदै पनि तलबभत्ता लिनु लज्जास्पद विषय हो । जनता भाँडमा जाऊन्, हामी त सरकारी गाडी र सेवासुविधा लिन आएका हौं भन्ने रबैया सांसदहरुले देखाइरहेका छन् ।
जनताले यस्ता सांसदलाई घृणा गर्नु स्वाभाविकै हो । यिनीहरुले आफ्नो कोटमा सांसदको लोगो लगाएको देख्दा जनतालाई दुःख लाग्छ । छिमेकीहरु हामीलाई सिद्ध्याएर कहाँबाट कहाँ पुगिसक्यो तर सांसदहरुले देख्दैनन् । खेतीयोग्य जमिन खण्डीकरण गरेर घर र बाटो बनाउने सिकाउने को ? यो अहिले होस् या पहिलेका सांसदहरुले बुझेनन् । मुलुकलाई हरेक सामानमा परनिर्भर बनाउने को ? यसतर्फ पनि कसैको ध्यान नै गएन । हिजो खाद्यान्न निर्यात गर्ने मुलुक आज हरेक सामान आयात गर्छ ।
नेपाललाई यो अवस्थामा पु¥याउने भारत र चीन होइन ? विकास भनेकै घर बनाउनु हो, बाटो बढाउनु र पिच गर्नु हो भनेर नेपालका नेता र दलालीहरुलाई सिकाइयो । उनीहरु पनि केही सोचविचार नै नगरी त्यही बाटो हिँडे । अरुले जता देखायो त्यतै हिँड्दाको प्रतिफल आज नेपाल र नेपाली जनताले भोगिरहेका छन् । नेपालका नेतासंँग त दिमाग नै छैन ? भारतले आफ्नो सामान बेच्न हामीलाई सखाप बनायो भन्ने कुरा राजनीतिक दलका नेताले अझैसम्म पनि बुझेनन् ।
बाटो बनाउन चाहने हरेक सामान भारत र चीनले हामीलाई बेच्यो । घर बनाउँदा लाग्ने हरेक स–साना सामानहरुसमेत यी दुई मुलुकबाट खरिद गरियो । घर बन्यो, त्यो घरमा बस्ने मान्छेहरुले खाने खाद्यान्न पनि भारत र चीनले नै बेच्छ । छिमेकी भन्दाभन्दै देश डुबाइसक्यो भन्ने कुरा जनताले बुझिसके तर नेताहरु बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । देशमा आर्थिक मन्दी किन छायो ? व्यापार घाटा किन बढ्यो ? देश भोकमरी लाग्ने अवस्थामा कसरी पुग्यो ? यो छर्लङ्ग भइसकेको छ ।
देशमा खाद्य संकट देखिसकेको छ । अब घर भत्काएर खेती गर्ने ? सरकारले दिगो सोचाइ राखेन् । जसको नतिजा हामीले अब छिट्टै भोग्ने छौं । देश थप जटिल अवस्थामा जान्छ । सांसद् र सरकारको आँखा कहिले खुल्छ ? उनीहरुको आँखामा छिमेकी देशले पट्टी बाँधेका छन् । त्यो पट्टी खोल्न ढिलो भइसकेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *