अखिल क्रान्तिकारीको विवादले समस्या

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सत्ता संचालक दल नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीको विवादले सम्मेलन गर्न समस्या भएको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह पक्षले मंसिरमा २३ औं सम्मेलन गर्ने तयारी गरेको छ भने समानान्तर कमिटी चलाएको पवन कार्की पक्षले असोजमै सम्मेलन गर्नुपर्ने भन्दै दबाब बढाएका कारण विवाद बढेको हो ।
क्रान्तिकारीको २३ औं सम्मेलन मंसिरमा गर्ने तयारी गरिएको संगठनका उपाध्यक्ष नारायण खनालले बताए । अखिल क्रान्तिकारीको विवाद विद्यार्थी नेताहरुको मात्रै विवाद नभई यो पार्टीका केन्द्रीय नेताबाट सिर्जित समस्या रहेको बताइन्छ । क्रान्तिकारीको समानान्तर कमिटी चलाएका संयोजक कार्कीले संगठनको २३ औं सम्मेलन असोजमै गरेर जानुपर्ने बताएका छन् ।
२३ औं सम्मेलन असोजमै गर्नुपर्छ भन्ने कुरामा विधानभन्दा बढी समय लम्ब्याउनु हुँदैन भन्ने कुरालाई कार्कीले जोड दिने गरेका छन् । सहमतिको नाममा संगठनलाई भद्रगोल बनाउनु हुँदैन भन्दै कार्की आन्तरिक प्रतिस्पर्धा गर्न दिएर सम्मेलन गर्नुपर्छ भन्ने मान्यता राख्दछन् । संगठनमा विवाद हुँदा गत असार २० गते भएको क्रान्तिकारी स्ववियू काउन्सिलमा कार्की पक्ष अनुपस्थित थियो । कार्की पक्षले काउन्सिल भेलामा पार्टीका नेताहरुलाई उपस्थित नहुन दबाब दिएको थियो । सोही कारण उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित नभएको बताइन्छ ।
पन्चा पक्षले भेला गरे लगत्तै कार्की पक्षले साउन ४ गते स्ववियूमा निर्वाचित प्रतिनिधि राखेर भेला गर्ने तयारी गरेको थियो । भेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुन नसक्ने जानकारी गराएपछि मिति सारिएको छ ।
क्रान्तिकारीमा देखिएको विवादले नेताहरुको टाउको दुखेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *