क्यानमा महानिर्देशकको फुर्ति

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक बन्न सफल प्रदीप अधिकारीको फुर्ति बढेको छ । उनले आफूलाई मन्त्रीले समेत केही गर्न नसकेको भन्दै कर्मचारीवृत्तमा आतंक मच्चाउन लागिपरेको बताइएको छ ।
उनले कर्मचारीहरुलाई ‘तिमीहरुले मेरो कुरा लगाएर के भयो ? मन्त्रीले त मलाई केही गर्न सकेन’ भन्दै अधिकारीले त्यहाँ कार्यरत कर्मचारीहरुलाई थर्काउन थालेपछि कर्मचारीहरुमा आतंक छाएको छ ।
१२औं तहमा पाँचजना हुँदाहुँदै शक्तिकेन्द्रको आडमा उनी महानिर्देशक बनेका थिए । क्यान मातहतका गौरवका आयोजनाहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका आयोजनामा उनले करोडौं रुपियाँ बराबरको चलखेल गरेको समाचार सूत्रको दाबी छ ।
हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अधिकारीको कार्यशैलीप्रति प्रश्न गर्दै दुई पटक स्पष्टीकरण सोधे पनि उनीमाथि कारबाही नगरिएकाले अधिकारी साँढेजस्तो बन्न पुगेको बताइन्छ । तात्कालीन पर्यटनमन्त्रीहरु रविन्द्र अधिकारी , योगेश भट्टराईदेखि भानुभक्त ढकालसँग मिलेर अधिकारीले सेटिङमा ठेक्का मिलाउँदै आएको आरोप उनीमाथि लाग्दै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ट्याक्सी वेको ठेक्का अधिकारीकै सेटिङमा दुई वर्षअघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई दिइएको समाचार स्रोतले दाबी गरेको छ । यसैगरी हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाको नाममा करिब नौ अर्ब २० करोड रुपियाँको ठेक्का लगाउँदा पनि उनले ठूलामात्रामा चलखेल गरेको आरोप लाग्दै आएको छ । चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनसँग मिलेर उनले चलखेल गर्दै आएको बताइन्छ ।
उनले एउटै कामका लागि धेरै परामर्शदाता खडा गरेर परामर्शदातामार्फत् रकम लिने गरेको पनि समाचार स्रोतको दाबी छ । विमानस्थलहरुको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई तोकी अधिकारीले त्यहाँ समेत चलखेल गरेको आरोप लागेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *