शहरी विकासमन्त्री जम्बो टोली लिएर विदेशमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/सरकारले उपलब्धीविहीन विदेश भ्रमणमा रोक लगाए पनि सञ्चिती विदेशी मुद्रालाई चुना लगाउँदै शहरी विकास मन्त्री सीता गुरुङ १० दिने विदेश भ्रमणमा निस्केकी छन् । करिव १५–१६ जनाको डफ्फा बोकेर मन्त्री गुरुङ नेदरल्याण्ड, फ्रान्स र बेल्जियमको भ्रमणमा गत भाद्र २२ गते उडेकी हुन् ।
उनको भ्रमण टोलीमा आगामी असोज ११ गते अवकास हुने शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, मन्त्रालयको योजना हेर्ने सहसचिव दिलिप भण्डारी, स्वकीय हेमन्त गुरुङ, नगरविकासका कार्यकारी निर्देशक र ४–५ जना नगर प्रमुखहरु रहेको समाचार श्रोतले जानकारी दिएको छ । मन्त्रीसहितको जम्बो टोलीलाई नगरविकास कोषले भ्रमणको व्यवस्था मिलाएको समाचार श्रोतले बताएको छ ।
गाईजात्राको रुपमा चिनिने गरेको र मन्त्रीभन्दा स्वकीय सचिव गुरुङ हावी भएको शहरी विकास मन्त्रालयमा बेथितिको चाङ्ग लागेको जानकारहरुले बताएका छन् । गाडी सुविधा नभए पनि मन्त्रीका स्वकीय गुरुङले बा.२.झ २६३५ नम्बरको क्रेटा गाडी चढ्ने गरेका समाचार स्रोतले बताएको छ । मनपरी रुपमा इन्धन सुविधा लिएर आफ्नालाई गाडीमा ओसार पसार गर्दै आएका गुरुङले अवकाश हुन लागेका सचिव श्रेष्ठसँग मिलेर सरुवामा समेत चलखेल गरेको आरोप लागेको छ ।
कन्सलटेन्सी र विचौलियाको काम गर्ने उप्रेती थरका व्यक्तिसँग मिलेर स्वकीय गुरुङले तर मारिरहेको जानकारहरुले बताएका छन् । विदेश भ्रमणमा निस्कनुअघि केही डिईहरुको सरुवा गरेका सचिव श्रेष्ठले विदेशबाट फर्केपछि सरुवाको विट मार्ने बताइएको छ । यसरी आफ्ना नातागोताको हालीमुहाली रहेको शहरी विकास मन्त्रालयमा काँग्रेसीहरु उपेक्षित बनेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *