बल्ल पायो यातायातले महानिर्देशक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्राल अन्तर्गत पर्ने यातायात व्यवस्था विभागले डेढ महिनापछि महानिर्देशक (डि.जि.) पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकै दौडधूप गरेपछि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) उद्ववप्रसाद रिजाललाई विभागको जिम्मेवारी प्रदान गरेका छन् ।
नवनियुक्त महानिर्देशक रिजाल पनि आकर्षणविहीन ट्रली बसको थोत्रो घरबाट कहिले सरुवा हुने हुन् भन्ने चर्चा शुरु भैसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रेल्वे विभाग र यातायात व्यवस्था विभाग श्रोत, साधन र जनशक्ति नभएका नाम मात्राका विभाग हुन् । यातायात व्यवस्था विभागमा नेतृत्व नहुँदा सेवाग्राहीले लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स लिन वञ्चित भएका छन् ।
विभागमा १४ महिनाको बीचमा महानिर्देशक बनेर गएका यसअघिका तुल्सीनाथ गौतम, टोकराज पाण्डे, सुरेश राउत, नमाज घिमिरे, गोगनबहादुर हमाल लगायतका महानिर्देशकहरु जिम्मेवारी सम्हालेको केही समयमा नै सरुवा भएका थिए । नाम यातायात व्यवस्था विभाग भए पनि यातायात क्षेत्रको व्यवस्था र विकास गर्न नसक्दा यात्रुहरुले कष्ट बेहोर्न बाध्य छन् । कुनै बेला लुटको अखडा बनेको यातायात कार्यालयहरु प्रदेशमा गएपछि यातायात व्यवस्था विभाग हुलाक जस्तै बनेको छ । यसका कारण कोही पनि सहसचिवहरु विभागको महानिर्देशक बन्न चाहँदैनन् । फलस्वरुप सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।
नयाँ महानिर्देशकबाट पनि सेवाग्राहीले सिन्को भाँचिएला भन्ने विश्वास गरेका छैनन् । जे भए पनि मन्त्रीले लाज छोपेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *