एनसेललाई लेखा समितिको धक्का

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ विवादित बनेको एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई निर्देशन पनि दिएको छ ।
समितिले एनसेल शेयर बिक्री प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्वजानकारी गराउनुपर्नेमा प्रारम्भमा जानकारी नगराइएको कुरालाई आधार बनाएको छ । अहिले आएर जानकारी गराउने भनेकाले पनि कानूनी व्यवस्थाको परिपालना नगरिएको ठहर समितिले गरेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
‘शेयर खरिद बिक्री अवास्तविक, अविश्वसनीय र अपारदर्शी तवरमा न्यून मूल्याङ्कनमा खरिद बिक्री गरिनु, नेपाल बाहिर शेयर खरिद बिक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पुँजीगत लाभ, स्वामित्व हस्तान्तरण र करहरू प्रभावित गर्न खोजिनु, ६ वर्षपछि सरकारको मातहतमा आउनेमा अनिश्चित थप्नुले उक्त कारोबार संशयपूर्ण र अपारदर्शी देखिन्छ’, भनी समितिले ठहर गरेको छ । समितिले यस विषयमा विस्तृत अनुसन्धान गरेर निष्कर्षमा पुग्नुपर्ने भएकाले निष्कर्षमा नपुग्दासम्म शेयर खरिद बिक्री रोक्न तथा यसबारे वास्तविकता पहिचान गर्न ३० दिनभित्र कार्यसम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न पनि सरकारलाई निर्देशन दिएको पोखरेलले जानकारी दिएका छन् ।
समितिले आगामी दिनमा दुविधा नहुने गरी दूरसञ्चार कानून संशोधन गर्नुपर्ने भएको निष्कर्ष पनि निकालेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *