दोश्रो राष्ट्रिय बाल नाटक मेला शुरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० गत शुक्रबारबाट शुरु भएको छ ।
पूर्व वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राष्ट्रिय नाचघरमा उद्घाटन गरेको उक्त मेला यही फागुन २७ गतेसम्म हुने आयोजकले जनाएको छ । नाटक मेलाको उद्घाटन गर्दै विश्वकर्माले समाज पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताएका थिए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ भन्दै उनले अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै दुःखेसो व्यक्त गरे ।
उक्त मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु प्रतिस्पर्धामा राखिएका छन् ।
नाट्यकर्मी महासंघले आयोजना गरेको बालबालिकाहरुको नाटक मेलाको उद्घाटन समारोहमा नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेले बालबालिकाहरु संवेदनशील भएको तर राज्यको आँखा बालबालिकामा पुग्न नसकेको जिकिर गरिन् । बालबालिकाहरुलाई नाटकमा सहभागी गराउनु भनेको उनीहरुको प्रतिभा उजागर गर्नु मात्र नभै उनीहरुमा आत्मविश्वास विकास गर्नु पनि रहेको उनले बताइन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ एवम् नाट्य विभाग प्रमुख हिसान मगरले देशको संस्कृतिले नै देशको वास्तविक मुहार देखाउने भए पनि त्यहीँनेर कमजोरी भएको बताए ।
यसैगरी सिल्क रोड इन्टरनेशनल लिग अफ थिएटरका संस्थापक दीपक सरकारले नाट्यकर्मी महासंघले बालनाटक मेलालाई निरन्तरता दिनु महत्वपूर्ण भएको उल्लेख गर्दै बालबालिकाको प्रतिभा प्रष्फुटनको लागि यस्ता मञ्चहरु निर्माण गर्नु र त्यसलाई निरन्तरता पनि चुनौतीपूर्ण रहेको बताए ।
यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रंगमञ्च र चलचित्र क्षेत्रका कलाकारहरु पेशागत रुपमा पीडित भएको उल्लेख गर्दै पेशागत अधिकारका लागि नाट्यकर्मी र चलचित्रकर्मीहरुको एकताबद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रमका सभापति नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले बालनाटक मेलाको माध्यमबाट असल, चेतनायुक्त नागरिक र समाज निर्माणको लागि पहल गरेको बताए ।
नाटक मेलाको उद्घाटन सत्रमा ग्लाडस्टोन एकेडेमी भक्तपुरको प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटक ‘गीता’ को मञ्चन गरियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *