अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन नेपालमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / यहि चैत्रको १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा नेपाल—भारत संस्कृत सम्मेलन आयोजना गरिने भएको छ ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली इन्डिया फाउन्डेशन, नयाँ दिल्लीको आयोजनामा यो सम्मेलन हुन लागेको हो । यस सम्मेलनले नेपालको संस्कृतको गतिविधिलाई भारतमा एवं भारतमा भइरहेको संस्कृतको कार्यबारे नेपालमा परस्पर बोध गराउने उद्देश्य लिएको बताइएको छ । सम्मेलनका संयोजकका रुपमा रहेका डा. प्रेमराज न्यौपानेले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति वितरण गर्दै, ‘आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेको सन्दर्भमा नेपाल र भारतमा संस्कृतका धेरै विश्वविद्यालयहरू, महाविद्यालयहरू र विद्यालयहरू छन् । विभिन्न विदेशी विश्वविद्यालयहरूमा समेत संस्कृत अध्ययन गर्ने गराउने धेरै शोधार्थीहरू, प्राध्यापकहरू रहेका छन् । यसरी प्राचीन संस्कृतका ग्रन्थहरूको ज्ञानलाई वर्तमानमा पनि प्रयोग गर्ने परिपाटी विकसित हुँदै आएको सन्दर्भमा विश्वभरीको संस्कृतको नेतृत्व संसाधन एव्ां जनशक्तिका दृष्टिले नेपाल र भारतले मात्र गर्न सक्छन् र गर्नुपर्दछ भन्ने अपेक्षा विश्वले नै गरेको छ ।’ भन्ने धारणा राखे ।
उनले जारी गरेको विज्ञप्तिमा ‘नेपाल—भारत संस्कृत सम्मेलन यसअघि पनि नेपालमा भएका थिए । नेपालमा वि.संं. २०२४ मा पहिलो पटक दाङमा नेपाल भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यसैगरी दोस्रो पटक २०५१ मा, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौंमा भएका थिए । नेपाल तथा भारतको भूमि संस्कृत भाषा, साहित्य, ज्ञान–विज्ञान आदि अनेकौं विषयबस्तुहरूको उद्गमस्थल भएको तथ्य सर्वजनिन नै छ । यसरी हेर्दा नेपाल र भारत दुवैको सामरिक र साझा सम्पत्तिकारूपमा संस्कृतभाषा रहेको स्पष्ट हुन्छ । नेपाल एवं भारतमा पनि वर्तमान औपचरिक शिक्षाको प्रारम्भ हुनुभन्दा पहिलेदेखि नै संस्कृतको अध्ययन अध्यापन विभिन्न व्यक्तिहरू तथा संस्थाहरूका माध्यमबाट हुँदै आएको छ । भारत र नेपालका विभिन्न स्थानहरूमा पनि संंस्कृतको सुदीर्घ परम्परा अझै पनि विश्वले नै देखिरहेको छ । दुबै देशहरू आजको राजनीतिक सीमाहरूमा स्थापित हुनुभन्दा पहिलेदेखि नै संस्कृत भाषा र यसमा निहीत ज्ञानको भण्डारलाई साझा सम्पत्तिकारूपमा सहजै आदान प्रदान गर्ने गर्दथे । जसको आज अझ बढी आवश्यकता रहेको छ । विद्या हराए काशी जानु भन्ने उखान अहिले पनि जनजनमा स्मरणीय छ । नेपालको आजको शिक्षाप्रणाली पनि भारतसँग मिल्दोजुल्दो नै देखिन्छ ।’ भन्ने धारणा राख्दै उक्त सम्मेलनका विषयमा जानकारी गराए ।
यसैगरी ‘यिनै तथ्यहरूका आधारमा नेपाल तथा भारतका संस्कृतका विशिष्ट विद्वान्हरूले गर्ने आपसी सम्वादबाट संसारको कल्याणका लागि संस्कृतको महत्वपूर्ण भूमिका हुन्छ । साथै, आगामी गन्तव्य के कस्तो हुनु पर्दछ भन्ने निर्धारण गर्नु आजको आवश्यकता हो भन्नेमा विद्वान्हरूको एकमत रहेको सन्दर्भमा तीन दिवसीय संस्कृत सम्मेलनको आयोजना गर्ने प्रस्ताव गरिएको छ । दुवै देशको विकासको आधार संस्कृत हो । परिवर्तित वैश्विक सन्दर्भमा संस्कृतले कसरी हामीलाई दिशानिर्देश गर्न सक्दछ भन्ने गहन पृष्ठभूमिका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो ।’ भनिएको विज्ञप्तिमा ‘नेपाल र भारतका संस्कृत सम्बन्धी साझा धारणाहरू यस सम्मेलनबाट निश्चित हुनेछन् । त्यसबाट विश्वभरी कै नेतृत्व दुबै देशका संस्कृतज्ञहरूले लिन सक्षम हुने र ऐतिहासिक संस्कृत सम्मेलन बन्नेछ भन्ने विश्वास लिइएको छ ।’ उल्लेख छ ।
उक्त सम्मेलनको उद्देश्यका बारेमा जानकारी गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘दुबै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्धिक विकासको विशिष्ट अध्ययन गर्नु, विश्वका विभिन्न भाषाहरूमा संस्कृतका प्रभावका बारेमा छलफल गर्दै त्यसको सान्दर्भिकताका विषयमा चिन्तन गर्नु, विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषण गर्नु’ रहेको जानकारी दिइएको छ ।
यसैगरी संस्कृत सम्मेलनको उद्घाटन पहिलो दिन चैत्र १४ मा हुने र त्यसपछि दुई दिन विशेषज्ञहरूबाट प्रस्तुतिहरू हुने जानकारी दिइएको छ । सम्मेलन आवासीय हुने जानकारी दिंदै नेपाल संस्कृत विश्वविद्यालय तथा केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीका उपकुलपति लगायत अन्य विभिन्न विश्वविद्यालयहरूका उपकुलपति तथा विशिष्ट आचार्यहरूको उपस्थितिमा अनुसन्धानमूलक कृतिहरूको प्रस्तुतिकरण हुने पनि जनाइएको छ । यसैगरी संयोजक न्यौपानेले नेपाल र भारतका संस्कृतसँग सम्बन्धित विषयवस्तुहरूमाथि गहन विमर्श गरिने, वरिष्ठ प्राध्यापकहरूबाट अनुभव, ज्ञान र विज्ञताहरूमा आधारित विषयवस्तुको प्रस्तुतिले सम्मेलनलाई विद्वत्तापूर्ण बनाउने विश्वास पनि व्यक्त गरे ।
यसैगरी नवीन चिन्तन प्रणालीलाई संस्कृतले कसरी धारण गर्नुपर्छ भन्ने विषयमा समेत अन्यतम परामर्श हुने, विश्वभरी संस्कृतको विस्तार गर्न नेपाल र भारतका विद्वान्हरूको योगदान बारे परिचर्चा गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *