‘भागु’ सर्वाेत्कृष्ट नाटक घोषित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रिय बालनाटक मेला २०८० को सर्वाेत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत सातवटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधिसहित ‘भागु’ ले एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको हो ।
नाटक मेलाको समापन समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् । भक्तपुरको निष्ट स्कूलले तयार पारेको नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित रहेको बताइएको छ । भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको बताइएको छ ।
उक्त नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए । नाटकका लेखक पुष्पराज अवस्थी हुन् ।
फागुन १८ गते उद्घाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भए । समापन समारोहमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारी, चलचित्र निर्देशक राजेन्द्र शलभ, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला आदिले बोलेका थिए ।
मेलामा भागु नाटकबाट उत्कृष्ट अभिनेता सुजन पहाडी, उत्कृष्ट अभिनेत्री रुमानी रोकाया, उत्कृष्ट सहअभिनेत्री ट्रेजा ढकाल, उत्कृष्ट प्रकाश परिकल्पना पुष्पराज अवस्थी, उत्कृष्ट नाटककार पुष्पराज अवस्थी र उत्कृष्ट निर्देशक लक्ष्मी जोशीले पुरस्कार जितेका छन् । त्यसैगरी मृगशिरा वर्ल्ड स्कूलले प्रस्तुत गरेको नाटक बाह्राले दर्शक छनौट पुरस्कारसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट भेषभूषा तथा श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि तथा संगीत गरी चारवटा पुरस्कार जितेको छ ।
उक्त नाटकमा नेवार समुदायमा बालिकाहरुलाई गुफा राख्ने परम्परामा आधारित कथा पस्केको बताइन्छ । नाटकमा प्रभा बुढा, निलम महर्जन, कृष्ण यादव, रोज देउला, स्नेहा यादव, रोमन सुन्दास, तपस्या शाक्य, रितिका खड्का, एन्जल शाही, रोशनी पाण्डे, श्रीणा तामाङ, विप्लव अधिकारी, ज्यास्लिन रन्जित, श्रृजल मानन्धरले अभिनय गरेका थिए ।
सो प्रतियोगिताको उत्कृष्ट सहअभिनेताको पुरस्कार भने बनेपाको विद्यासागर स्कूलको नाटक ‘नेपालको कानून दैवले जानुन्’ का कलाकार प्रसिद्ध तिमल्सिनाले पाए । त्यस्तै अनुशासित समूहको पुरस्कार भक्तपुरको नेक्सस स्कूलले प्राप्त गरेको छ । मेलामा ग्लाडस्टोन एकेडेमी गीता नामक नाटक प्रस्तुत गरेको थियो । प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटकमा परिवारको जिम्मेवारी निर्वाह गर्न विदेशिएका श्रीमान् बेपत्ता भएपछि आइपरेको जिम्मेवारी निर्वाह गर्न श्रीमतीले गरेको संघर्ष र छोरी गीताको बाल मनोविज्ञानमा परेको असरको कथा बुनिएको थियो । नाटकमा दिप्शा श्रेष्ठ, आयुश्मा पौडेल श्रृष्टि शर्मा, श्रृष्टि खड्का, उज्ज्वल खत्री, सौरम्य दाहाल, जेनिस बलम्पाखी, रिया खत्री, तयामा राई, परिधि महतले अभिनय गरेका थिए ।

त्यस्तै पुरानो सिनामंगलको नेक्सस स्कूलले सिम्रिकको अठोट प्रस्तुत गरेको थियो । नाटकमा व्यस्त शहरिया जीवनको कारणले खासगरी बृद्ध अवस्थामा पुगेका परिवारका सदस्यहरु र बालबालिकाहरुको उचित हेरचाह नपुग्ने र त्यसको कारणले बालबालिकामा पर्ने मानसिक असरलाई नै देखाइएको छ । प्रभाकर न्यौपानेको निर्देशन रहेको नाटक उनैले लेखेका हुन् । नाटकमा गौरबी पराजुली, हेइस्का निरौला, अंशु खरेल, हृदय घिमिरे, रिसव सुवेदी, सम्भवी कार्की, रचना खरेल, जेनिस गौतम, सुस्मा स्याङताङ, आँचल पछाई, कृसु लामिछानेले अभिनय गरेका थिए ।

नाटक मेलामा मेरिडियन ईन्टरनेशनल स्कूल बालुवाटारले दीपेन्द्र रानाद्वारा लिखित नाटक एक म प्रस्तुत गरेको थियो । सुजिता केसीले निर्देशन गरेको नाटकले व्यस्त अभिभावकका कारणले बालबालिकाले भोग्नु परेको समस्याको विषय उठाएको थियो । हुर्कदा बालबालिकाहरुलाई अभिभावकले समय दिन नसक्दा ती बालबालिकाहरुमा पर्ने मानसिक असरलाई नाटकमा प्रस्तुत गरिएको थियो । नाटकमा निशिता पौडेल, याङचेन तामाङ, दृष्टि थपलिया, इसिता खरेल, स्वेच्छा तिमल्सिना, समरा जोशी, साइना रिजाल, नृपेश गुरुवाचार्यको अभिनय रहेको थियो ।
मेलामा कोलम्बस इन्टरनेशनल स्कूलले कथाकार गुरुप्रसाद मैनालीको कथा नासो लाई नाट्य रुपान्तर गरी प्रस्तुत गरेको थियो । राम केसीले कथालाई नाट्य रुपान्तरण र निर्देशन गरेका थिए । नाटकमा आयुषा भण्डारी, क्रिशा बरुवाल, सौगात कक्षपती, साइना स्याङताङ, युक्ति थापा मगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आले मगर, निकेश लामा, सेजल काफ्ले, रिजन न्यौपानेलै अभिनय गरेका थिए ।
त्यस्तै लिटल एन्जेल्स स्कूलले सपनाको लक्ष्य नाटक प्रस्तुत गरेको थियो । दीपा बस्नेतको लेखन र निर्देशन रहेको नाटकमा लेलिना विष्ट, सुकृम रेग्मी, रश्मी लामा, प्रशंशा दाहाल लगायत कलाकारले अभिनय गरेका थिए ।

शंखमूलको नेरिक एकेडेमी स्कूलले मैले नदेखेको देश नाटक प्रस्तुत गरेको थियो । निशा पोखरेलको निर्देशनमा प्रस्तुत उक्त नाटक नेपालको दुर्गम गाउँहरुमा विद्यमान समस्या, सामाजिक कुरीति, जीवन यापनका समस्याहरु देखाइएको थियो । मेलामा रेडियन्ट रिडर्स एकेडेमीले अटिज्मले पीडित बालिकाको कथा प्रस्तुत गरेको थियो । राजन भुजेलको लेखन तथा निर्देशन रहेको नाटकमा सदिक्षा शर्मा, स्नेहा पौडेल, आध्या श्रेष्ठ, दिव्याङ्का पंजियार, सम्बृद्धि अधिकारी लगायतले अभिनय गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *