चौध महिनापछि भौतिकमै फर्किए सिग्देल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत चैत १५ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सचिव गोपाल सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै फर्किएका छन् । तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री (हाल उपप्रधान तथा परराष्ट्र) नारायणकाजी श्रेष्ठले गत २०७९ माघमा सिग्देललाई सरुवा गरी केशवकुमार शर्मालाई भौतिक मन्त्रालयको सचिवमा भित्र्याएका थिए ।
सचिव शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाललाई रिझाएर भौतिक मन्त्रालयको सचिव बनेको आरोप लागेको थियो । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फर्किएका सचिव सिग्देललाई पनि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकी श्रीमती एवं सांसद जुली महतोलाई दिलखुस पारेर सरुवा भएको चर्चा चलेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ भए पनि सचिव लगायतको सरुवामा मन्त्री पत्नी महतो हावी हुने गरेको जानकारहरुले बताएका छन् । गत २०७९ फागुन ३ गते ठूलो संख्यामा गरिएको प्राविधिक सहसचिवहरु र २०८० भाद्र २६ गते गरिएको डिभिजन प्रमुख तथा योजना प्रमुखहरुको सरुवामा आकर्षक ठाउँमा गएकाहरुले मन्त्रीपत्नी महतोलाई थैली नबुझाए पद धरापमा पर्ने खतरा बढेकोले सुई, डिभिजन प्रमुख र योजना प्रमुखहरु छट्पटाउन थालेका छन् । बजेटको अनिकालले ध्वस्त बनेको सडक विभागअन्तर्गतका डिभिजन र योजनाहरु निर्माण व्यवसायीहरुको भुक्तानी गर्न नसकेर रन्थनिएको अवस्थामा दोश्रो पटक भौतिक पूर्वाधार मन्त्रालय छिरेका सचिव सिग्देलले समस्याको हल कसरी गर्छन् त्यो हेर्न बाँकी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *