काँग्रेसपथ मै राप्रपा, जनमोर्चा र नेकपा एस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत २०८० फागुन २२ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा एक महिना बितिसक्दा पनि तीनवटा विधेयक बाहेक पारित हुन सकेका छैनन् । संसद दलीय स्वार्थका कारण गतिहीन बन्न पुगेको छ ।
खासगरी सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएपछि काँग्रेसले संसदीय छानविन समिति गठनको माग गर्दै संसद्को काम कारबाही ठप्प पार्दै आइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीमा एक करोड ८० लाख रुपियाँ अपचलन गरेको विषयले लामिछानेलाई ‘नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छो बाबुको अनुहार’ भनेझैं गृहमन्त्री पद भएको छ ।
ल म निर्दोष छु भनेर तामातुलसी लिएर भाक्ने हिम्मत देखाउन सकेका छैनन् । विगतमा तात्कालिन अर्थमन्त्री डा. रामशरण महतलाई पनि यस्तै आरोप लाग्दा अर्थमन्त्रीबाट राजीनामा गरेर संसदीय छानविन समिति गठन गर्ने नैतिकता देखाएका थिए । अहिले लामिछानेलाई चोखो देखाएर राजीनामा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र रास्वपाकै उपसभापति एवं ‘एमसीसीका अमेरिकन दलाल’ भनिने स्वर्णिम वाग्लेले काँध थापेको जानकारुले बताएका छन् । वाग्ले काँग्रेसमा रहँदा डकारेर रास्वपामा हाम फालेका व्यक्ति हुन् ।
व्यक्तिगत रुपमा गृहमन्त्री लामिछानेलाई समर्थन गर्दै आइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चैत २७ गतेको जनप्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि विरोधमा उत्रिएको छ । गृहमन्त्रीको ठाडो निर्देशनपछि डिएसपीले राप्रपाका सांसदलाई लाठीचार्ज गरी मर्माहत बनाएका थिए । नैतिकता, नीति र सिद्धान्त तथा छेउटुप्पो नै नभएको पार्टी रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछानेले राजीनामा नै गर्नु पर्ने ठहर राप्रपाले पनि गरेको छ । गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले पनि राजीनामाको माग गरेपछि संसद मुठभेठतर्फ जाने अवस्था सिर्जना भएको छ ।
विस्तारै गैरवामहरु एकजुट हुन थालेपछि प्रधानमन्त्री दाहाल सत्ता जाने डरले छटपटिन थालेको राजनीतिक वृत्तमा चर्चा चलेको छ । यता काँग्रेस र एमाले मिलेर सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्ने बहस शुरु भएपछि दाहालको निद हराम भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *