फिनल्यान्डले दुई अर्ब अनुदान दिने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि फिनल्यान्डले अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा द्विदेशीय हस्ताक्षर भएपछि त्यसले आधिकारिकता पाएको हो ।
अर्थमन्त्रालयमा मंगलबार भएको हस्ताक्षर सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार फिनल्यान्डले नेपाललाई १३ मिलियन युरो अर्थात एक अर्ब ८७ करोड अनुदान दिने भएको हो ।
युरोपेली संघ (ई.यू.) को १८ मिलियन र फिनल्यान्डको १३ मिलियन अनुदान तथा नेपाल सरकारको २० मिलियन गरी ५१ अर्ब युरो रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमार्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिने गरी उक्त सहयोग रकमको व्यवस्था गरिएको हो ।
२०८० साउन ६ गते नेपालका तर्फबाट अर्थ मन्त्रालयका तात्कालीन सचिव अर्जुन पोखरेल र संघका तर्फबाट मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने निर्देशक पेटेरियस युस्तुब्सले हस्ताक्षर गरी सकेका थिए । नेपाल र फिनल्यान्ड तथा पुरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता भएको जानकारी दिइएको छ । आयोजनाको कार्यान्वयन आगामी आर्थिक वर्ष २०८१÷८२ मा हुने गरी उक्त सम्झौता भएको बताइएको छ ।
फिनिस राजदूत हेक्काले सम्झौता संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) का क्रममा फिनल्यान्ड र युरोपेली संघले गरेको प्रतिबद्धता कार्यान्वयनको एक हिस्सा भएको बताएकी छिन् ।
नेपालजस्ता विकासोन्मुख मुलुकलाई विकसित मुलुकले जलवायु अनुकूलन कार्यक्रमका लागि सहयोग गर्ने प्रतिबद्धता यसअघि जनाइएको अवस्थामा आएको उक्त अनुदान रकमले नेपालको जलवाय् अनुकूलन कार्यक्रममा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । परियोजना सञ्चालन गर्दा बढीभन्दा बढी महिला समुदायलाई लाभान्वित गर्ने लक्ष्य राखिएको बताइएको छ । फिनल्यान्डले यसअघि सुदूरपश्चिम र कर्णालीमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना सञ्चालन गरेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *