टेलिकम डुबाउन सक्रिय पात्रहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रको सञ्चारका नामले परिचित नेपाल टेलिकम कुनै समय सर्वाधिक नाफा गर्ने संस्था हो । टेलिकममा कार्यरत कर्मचारीहरुका लागि आकर्षक मानिने यो संस्था अहिले नेतृत्व गर्ने प्रबन्ध निर्देशकहरुका लागि भ्रष्टाचारको केन्द्रविन्दु बन्न पुगेको पुष्टि निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल प्रकरणले गरेको छ ।
तात्कालिन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारको अथक प्रयास र सकृयताले सम्बृद्ध र सक्षम बनेको टेलिकम यतिबेला ओरालो लागेको जानकारहरुले बताएका छन् । टेलिकमलाई तात्कालिन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीपछिका प्रबन्ध निर्देशकहरु डिल्लीराम अधिकारी र सुनिल पौडेलले खरानी पारेको आरोप लागेको छ । अधिकारी र पौडेलले नेपाल टेलिकमलाई लुटको अखडामा परिणत गरेको श्रोतले बताएको छ ।
अधिकारी तात्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं हाल नेकपा (एमाले) का सांसद गोकुल बास्कोटा र पौडेल काँग्रेस नेता एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पालामा आर्थिक चलखेल गरेर टेलिकमको प्रबन्ध निर्देशक बन्न सफल भएका थिए । पौडेललाई गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । हाल टेलिकमको नेतृत्व संगीता पहाडीले का.मु. प्रबन्ध निर्देशक बनेर गरिरहेकी छन् ।
सुनिल पौडेलमाथि २३ करोड ७५ लाख रुपियाँ गैरकानूनी रुपमा जोडेको अख्तियारको दाबी छ । सुनिललाई नेपाल र सिंगापुरमा गरी अकूत सम्पत्ति जोडेको आरोप लागेको छ । ठेक्कापट्टामा मोलमोलाई र कमिशन बढाएर आपूर्तिकर्ताहरुसँग मिलोमतो र वार्गेनिङ्ग तथा साँठगाँठ गरी पौडेलले ठूलो रकम भ्रष्टाचार गरेका थिए । पौडेलले नेपाल टेलिकमको विलिङ प्रणालीको मर्मतसम्भार ठेक्कामा पनि अनियमितता गरेको आरोप लागेको छ ।
राजनीतिक नेतृत्वको जगमा ब्रम्हलुट गरेका पौडेल टेलिकमको इतिहासमा ठूलो भ्रष्टाचारी ठहरिएका छन् । यता, पौडेलभन्दा अगाडिका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई पनि भ्रष्टाचार गरेको आरोप लागेको छ । अधिकारीलाई अन्तर्राष्ट्रिय कलबाट टेलिकमलाई डलरमा गरिने भुक्तानी श्रीमतीको नाममा प्रतिमहिना लगभग तीन हजार डलर जम्मा गर्न लगाएको आरोप लागेको छ । अधिकारी हाल डिएमडी पदमा आइटी कार्यालय जावलाखेलमा कार्यरत छन् र भविष्यमा प्रबन्ध निर्देशक बन्ने तयारीमा छन् । एमाले निकट अधिकारीको बारेमा छानविन भैरहेको समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *