बङ्गलादेशमा तस्बिर प्रदर्शनी

Nayabimarsha (Weekly Newspaper from Nepal)

ढाका/ सगरमाथा दिवसका अवसर पारेर ढाकामा तस्बिर प्रदर्शनी गरिएको छ । ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जानकारी दिए ।
बङ्गलादेशका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरी, परराष्ट्र मन्त्रालयका सचिव मसुद बिन मोमेन र राजदूत भण्डारीले प्रदर्शनीको संयुक्त रूपमा गत शुक्रबार उद्घाटन गरेका थिए । प्रदर्शनी उद्घाटन समारोहका प्रमुख अतिथि चौधरीले नेपाल बङ्गलादेशीहरूलाई मनपर्ने गन्तव्य मध्येको एक भएको बताए । उनले सगरमाथालगायत हिमालप्रति उनीहरूको विशेष आकर्षण रहेको पनि बताए । जलवायु सङ्कटको अग्रपङ्क्तिमा हिमाल रहेका जानकारी गराउँदै उनले विश्वव्यापी जलवायु वार्तामा हिमालका समस्या सम्बोधन गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
परराष्ट्र सचिव मोमेनले नेपाल र बङ्गलादेशबीच विद्यमान सुदृढ सांस्कृतिक एवं जनस्तरको सम्बन्धका बारेमा चर्चा गरेका थिए । यसैगरी बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सगरमाथा दिवस पृथ्वीको सर्वोच्च शिखरको पहिलो ऐतिहासिक आरोहणको सम्झना मात्र नभएको भने । उनले पर्वत र पर्वतीय पर्यावरणको महत्व झल्काउने अवसरका रुपमा यस दिवसलाई लिन पनि सुझाए ।
प्रदर्शनीमा नेपाली र बङ्गलादेशी पर्वतारोही, पदयात्रा र फोटोग्राफरले खिचेका तस्बिरमार्फत नेपालका हिमाल र प्राकृतिक दृश्यलाई बङ्गलादेशी नागरिकसमक्ष प्रस्तुत गर्ने प्रयास भएको भनी दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
सगरमाथा आरोहण गरेका बङ्गलादेशी नागरिक मोहदबाबर अली र स्वर्गीय खालिद हुसेनकी पत्नी श्रीमती तहमिना शैलीलाई उक्त अवसरमा सम्मान गरिएको थियो । प्रदर्शनीमा एक सय २० तस्बिर समावेश थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *