मलेसियामा नेपाली श्रमिकको पक्षमा कुरा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मलेसियामा समकक्षीसँग मलेसियामा कार्यरत नेपाली श्रमिकको पक्षमा आवाज उठाएका छन् । उनले मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिमसँगको द्विपक्षीय भेटवार्तामा नेपाली श्रमिकको लागि २४ घण्टे बीमा सुविधाको व्यवस्था गर्न आग्रह गरे ।
जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मलेसियन पुगेका मन्त्री अर्यालले नेपाल सरकारले श्रमिकको सीप विकासलाई प्राथमिकतामा राखेको बताउँदै सीप विकासका लागी सहकार्य गर्न समेत आग्रह गरे । उनले “हामी नेपाली श्रमिकलाई सीप सिकाएर पठाउन चाहन्छौँ । तपाईँहरूले चाहेको सीपसहितको श्रमिक पठाउन हामी इच्छुक छौँ । नेपाली श्रमिकको सीप विकासमा सहकार्य गरौँ,” भनी मलेसियाका समकक्षी मन्त्रीलाई भनेको भनी हाम्रा मलेसियामा रहेको समाचारदाताले जानकारी दिए ।
अर्यालले मलेसियासँगको श्रम सम्झौताको लागि नेपाल सरकारले अन्तिम तयारी गरेको जानकारी गराउँदै परराष्ट्र र कानुन मन्त्रालयको राय प्राप्त भएपश्चात् श्रम सम्झौता नवीकरण गरिने बताए । मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिम नेपालसँगको श्रम सम्झौता चाँडो नवीकरणको होस् भन्ने मलेसियन सरकारले चाहेको बताए ।
यसैबीच विदेशमा जाने श्रमिकहरुलाई दक्ष र सीपयुक्त बनाई पठाइनुपर्छ भन्ने मन्त्री अर्यालको भनाइलाई बल पुग्ने गरी नेपालमा एच.आर.क्यापिटल नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गरिएको छ । उक्त संस्थाले कम्पनीको उद्देश्य अनुसार नेपालका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरी मानव संसाधनका विषयमा सरोकारवाला पक्षहरुलाई जानकारी गराउने कम्पनीका संस्थापक संचालक पुष्पा पाण्डेले जानकारी दिइन् । उनका अनुसार कम्पनीका पदाधिकारीहरुले चाँडै नै सबै सरोकारवालाहरुलाई समेटेर नेपाली श्रमिकलाई अझ दक्ष र सीपयुक्त बनाउने कार्यका लागि विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *