भक्तपुर अदालतको मुद्दा फछ्र्यौटमा दक्षता

Nayabimarsha (Weekly Newspaper from Nepal)

सन्जिव दुलाल

भक्तपुर/ भक्तपुर जिल्ला अदालतले गत आर्थिक वर्षको अवधिमा मुद्दा फछ्र्यौटमा ९४.८७ प्रतिशत प्रगति गरेको छ । अदालतले तीन हजार ८८० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा तीन हजार ६८१ मुद्दा फछ्र्यौट गरेको हो ।
यसैगरी चालु अवस्थामा रहेका पुराना मुद्दालाई दशैँसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिएका छन् ।
अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा न्यौपानेले पुराना मुद्दालाई फछ्र्यौट गर्ने लक्ष्यका साथ काम गर्ने योजना बनाएको जानकारी दिए । उनले आगामी आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भए पनि पुराना मुद्दा किनारा लगाउने उद्देश्य लिइएको बताए ।
भक्तपुर जिल्ला अदालतमा हाल १८ महिना नाघेका २ वर्षसम्म अवधिका मुद्दा १७४, २ वर्ष नाघेका २८५ र डीसीएम पूर्वका १३ मुद्दा चालु अवस्थामा रहेका अदालतका श्रेष्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएका दुई हजार ५९४ मुद्दा थिए भने वर्ष भरीमा पाँच हजार १२ मुद्दा दर्ता भएका थिए ।
वर्ष भरीमा जम्मा सात हजार ६०६ मुद्दामा तीन हजार ६८१ फछ्र्यौट गरिएको मगरले जानकारी दिए । उनका अनुसार बालबालिका सम्बन्धी मुद्दाको सवालमा भने ४१ वटा लगत रहेकोमा ३३ वटा फछ्र्यौट गरिएको छ ।
वर्ष भरीमा सरेर आएका र नयाँ मुद्दा अन्तर्गत देवानी मुद्दा तीन हजार ९७० रहेकोमा दुई हजार १८२ वटा यो वर्ष फछ्र्यौट गरिएको बताइएको छ । व्यक्तिवादी फौजदारीमा एक हजार ८०३ मुद्दा रहेकोमा ७९९ फछ्र्यौट भएको, सरकारवादी फौजदारी मुद्दा सङ्ख्या एक हजार ७३२ रहेकोमा ६५५ वटा फछ्र्यौट भएका बताइएको छ । पुनरावेदन भएर आएका ४० मुद्दामा १२ वटा फछ्र्यौट भएका रिटमार्फत दर्ता भएका निषेधाज्ञा ६१ मा ३३ वटा फछ्र्यौट भएको छ ।
यसैगरी उक्त अदालतमा थुनुवा मुद्दा जम्मा ७२ मुद्दा रहेको र थुनुवा सङ्ख्या भने ८५ रहेको बताइएको छ । यस्तै निरन्तर सुनुवाइ हुने मुद्दा सङ्ख्या भने लगत ९२ रहेको जसमा ५६ फछ्र्यौट गरी सकिएको बाँकी ३६ रहेको बताइएको छ । यस्तै विशेष प्रकृतिको निवेदन लगत ६९९ रहेकोमा ६९४ वटा मुद्दा फछ्र्याैट भइसकेको छ भने पाँचवटा मुद्दा बाँकी रहेको बताइएको छ ।
उक्त अदालतमा हाल छवटा इजलास रहेका छन् । इजलास १ मा प्रमुख न्यायाधीश वासुदेव न्यौपाने, २ नम्वर इजलासमा न्यायाधीश उपेन्द्रप्रसाद गौतम, ३ नम्वर इजलासमा न्यायाधीश श्रीप्रसाद संजेल रहेका छन् । यसैगरी ४ नम्वर इजलासमा न्यायाधीश महेन्द्रप्रसाद पोखरेल, ५ नम्वर इजलासमा न्यायाधीश रामप्रसाद न्यौपाने र ६ नम्वर इजलासमा न्यायाधीश दुर्गादेवी गुरुङ्ग रहका अदालतले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *