मातृशक्तिको विष्णुसहस्रनामको पाठ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ घर घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेका १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एकै स्वर र लयमा पाठ गरेका छन् ।
त्रिशक्ति एकादशी संस्कृति समाजले पशुपतिनाथ परिसरमा रहेको श्रीशङ्कराचार्य मठमा आयोजित कार्यक्रममा १०८ जनाले वाचन गर्ने कार्यक्रम रहेको भए पनि १२३ जनाले पाठ गरेको जनाइएको छ । नेपालमा यसरी यतिको सङ्ख्यामा महिलाबाट वाचन भएको यो पहिलो पटक भएको बताइएको छ ।
गुरुकुलका संस्थापक आचार्य कपिलदेव सुवेदीका अनुसार २०७६ सालमा कोरानाकालमा पाँच वर्षीया बालिका सान्भी सुमन प्रसाईले संस्कृत शिक्षा कहाँ लिन पाइन्छ ? भनी गरेको प्रश्नका आधारमा घरमा नै संस्कृत सिकाउने अभियान थालिएको बताइन्छ । त्यस अभियानअन्तर्गत महिलाले घरमा नै बसेर अनलाइनबाटै संस्कार शिक्षा, नित्यकर्म, दुर्गा शप्तसती, श्रीमद्भागवत गीतालगायतका संस्कृतका स्तोत्रको अध्ययन तथा कथावाचनसमेत गरिरहेका बताइएको छ ।
२५ वटा कक्षाबाट पाँच सयभन्दा बढी महिलाले त्यस्तो ज्ञान र वाचन हालसम्म सिकेका बताइन्छ । समाजका काठमाडौँ, मकवानपुर र चितवनमा शाखा रहेका छन् । ललितपुर र भक्तपुरमा शाखा गठनको तयारी भइरहेको बताइएको छ । संस्कार शिक्षा नेपालबाट मात्र नभई अमेरिकाबाट पनि सञ्चालनमा रहेको आचार्य कपिलदेवले जनाएका छन् । श्री १००८ स्वामी रमणानन्द गिरी र घर घरमा गुरुकुल अभियानका संयोजक आचार्य कपिलदेवद्वारा प्रा. शिवगोपाल रिसाल, प्रा. भवानीप्रसाद खतिवडा, समाजसेवी रामप्रसाद सुवेदी, मधुसूदन सुवेदी, शान्ति सुवेदी र अभियानको बीजारोपण गर्ने सान्भी सुमन प्रसाईलाई अभिनन्दन गरिएको थियो ।
त्रिशक्ति एकादशी संस्कृति समाजकी अध्यक्ष रीता पाण्डेको सभापत्विमा भएको कार्यक्रममा प्रा.भवानीप्रसाद खतिवडाले वैदिक सनातन धर्मको सम्बन्ध मानव कल्याणसँग हुने बताए भने रामप्रसाद सुवेदीले दानको महिमाबारे चर्चा गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *