राजेन्द्र सुवेदीको स्मृतिमा संस्था

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ साहित्यकार राजेन्द्र सुवेदीको स्मृतिमा गठित संस्था क्रियाशील देखिएको छ । गत २०८० सालमा राजेन्द्र सुवेदी स्मृति समाजको नाममा गठित संस्था विभिन्न साहित्यिक गतिविधिसहित क्रियाशील देखिएको हो ।
प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा गठित उक्त संस्थाको उपाध्यक्षमा डा.रमेश लुइँटेल ‘शुभेच्छु’ रहेका छन् । यसैगरी सचिवमा कमल सुवेदी ‘नीलकमल’ र कोषाध्यक्षमा पुष्पा सुवेदी घिमिरे रहेका छन् । यस्तै सदस्यहरुमा डा.सावित्री श्रेष्ठ, धीरकुमार श्रेष्ठ, प्रा.डा.नारायणप्रसाद गड्तौला, डा.हरिप्रसाद सिलवाल, डा.सीता सुवेदी पन्थी, डा.भागवत आचार्य र होम भट्टराई रहेका छन् ।
समाजको संरक्षकमा स्व.सुवेदीकी धर्मपत्नी इन्दिरा सुवेदी तथा सल्लाहकारहरुमा पूर्व उपकुलपति के.के.कर्माचार्य, पूर्व उपकुलपति प्रा.डा. वाशुदेव त्रिपाठी, प्राज्ञ चूडामणि बन्धु र प्रा.डा.माधवप्रसाद पोखरेल रहेको समाजले जनाएको छ । यस्तै, प्रा.डा.कविता लामा, प्राज्ञ नर्वदेश्वरी सत्याल, प्राज्ञ माधव प्रधान, वरिष्ठ साहित्यकार काजी रोशन, प्रा.शारदारमण नेपाल, प्रा.होम सुवेदी र शिक्षासेवी रामबाबु नेपाल पनि समाजको सल्लाहकारका रुपमा रहेका समाजले जनाएको छ ।
प्राध्यापकका रुपमा लामो अनुभव बटुलेका स्व.राजेन्द्र सुवेदीको २०७८ साल ज्येष्ठ ३ गते कोभिडका कारण ७६ वर्षको उमेरमा मृत्यु भएको थियो । माध्यमिक विद्यालय र विश्वविद्यालयमा गरी करिब छ दशक शिक्षण–प्राध्यापनमा आफ्नो जीवन समर्पण गरेका स्व.सुवेदीले विभागीय प्रमुख, क्याम्पस प्रमुख, विषय समितिको अध्यक्ष, देश विदेशका विश्वविद्यालयका पाठ्यक्रम निर्माताको रुपमा पनि आफ्नो पहिचान बनाएका थिए । उनले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको रुपमा समेत कार्य गरेको अनुभव थियो ।
२२ वर्षको उमेरमै आफ्नो साहित्यिक छविलाई समर्पण नामक पत्रिकामा ‘युवकको मुख्य उद्देश्य’ शिर्षकको निबन्ध प्रकाशनमार्फत बाहिर ल्याउन सुवेदी सफल रहेको बताइन्छ । उनका विषय गहन ः सतह चिन्तन, स्रष्टा सृष्टि द्रष्टा दृष्टि, सांस्कृतिक अध्ययन र नेपाली साहित्य, सिर्जनात्मक लेखन सिद्धान्त र विश्लेषण, चलचित्र सिद्धान्त र नेपाली चलचित्र, नेपाली समालोचना परम्परा र प्रवृत्ति नामक कृति प्रकाशित छन् ।
यसैगरी नेपाली उपन्यास परम्परा र प्रवृत्ति, समसामयिक नेपाली उपन्यास, सिर्जन विधाका परिधिमा पारिजात, सिर्जन विधाका परिधिभित्र ध्रुवचन्द्र गौतम, केही समीक्षा केही विश्लेषण लगायतका समालोचनात्मक कृतिहरु उनको जीवनकालमा प्रकाशित भएका थिए । यसैगरी खाली सिसी पुराना कागत, जीवन गोप्य सिलबन्दी खाम, गुडबाई छाडिजानेहरुलाई, तीर्थ पर्यटन, सम्राटका सीमाभित्र र बाहिरका भानुभक्त, मेरो यात्रा मेरै परिवेशभित्र, अब मेरो क्यासेट हुन्छ लगायतका निबन्धात्मक र संस्मरणात्मक कृतिहरु उनको जीवनकालमा प्रकाशित भएका थिए ।
यसैगरी आत्मनिर्माण नामक महाकाव्य लेखेका स्व.सुवेदीले सुद्युम्न, स्वप्न संसार, धितो कोख उपन्यासका रुपमा लेखेका थिए ।
संस्थाको कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३१ मा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *