काठमाडौं/ नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
आगामी असोज ५ र ६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हातामा हुने उक्त सम्मेलनमा विदेशबाट २५ जना बालसाहित्यकारहरु समेत सहभागी हुने जानकारी गराइयो । उक्त सम्मेलनमा अमेरिका, दक्षिण कोरिया, जपान, नेदरल्याण्ड र डेनमार्कबाट प्रतिनिधित्व हुने जानकारी सम्मेलनमा गराइयो । यसैगरी भारत, चीन, बंगलादेश, श्रीलंका, भुटान र पाकिस्तानबाट आउने बालसाहित्यकारहरुले आप्mनो नाम टिपाएको जानकारी सम्मेलन मूल आयोजक समितिका सदस्य–सचिव विजयराज आचार्यले दिनुभयो ।
यसैगरी सम्मेलन सफल पार्नका लागि आफ्नै संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् आयोजक मूल समितिका संयोजक विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले दिनुभयो । उक्त मूल समितिमा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ अगीब बनेपाली, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोदकुमार प्रधान, महासचिव विजयराज आचार्य रहनुभएको छ । यसैगरी समितिमा नेपाल ललितकला प्रतिष्ठानका पूर्वकुलपति के.के.कर्माचार्य, ग्रन्थपाल भोला श्रेष्ठ, रुम टु रिडका अनन्त वाग्ले र सञ्जु बज्राचार्य, समालोचक महेश पौड्याल, बालसाहित्यकार अनुराधा र प्रतिष्ठानका कर्मचारी राजकुमार श्रेष्ठ सदस्यका रुपमा रहनुभएको छ ।
नेपालमै पहिलो पटक आयोजना हुन गइरहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनका दौरान करिब दुई दर्जन कार्यपत्रको प्रस्तुति हुने तथा तिनीहरुका बारेमा छलफल हुने जानकारी समाजका अध्यक्ष प्रमोदकुमार प्रधानले दिनुभयो । यसैगरी कार्यक्रम उपसमितिका संयोजक महेश पौड्यालले सम्मेलनको अवधिमा हुने कार्यक्रमको रुपरेखाका बारेमा प्रष्ट पार्नु भएको थियो । पौड्यालले विदेशबाट सहभागिता जनाउने साहित्यकारहरुलाई सम्मेलन अवधिमा सम्मेलनका बारेमा जानकारी गराउन अंग्रेजी भाषाको प्रयोगको व्यवस्था समेत मिलाइने जानकारी दिनुभयो ।
यस्तै, अतिथि स्वागत तथा व्यवस्थापन उपसमितिका संयोजक अनुराधाले विदेशबाट आउने पाहुनाहरुलाई नेपालमा रहँदाको कार्यक्रमको अवधिभरी निःशुल्क रुपमा सहभागी गराउने जानकारी दिनुभयो । उहाँले विदेशी सहभागीहरुलाई काठमाडौं आसपासका क्षेत्रको भ्रमण गराउने तथा कतिपयले व्यक्तिगत रुपमा आफ्ना कार्यक्रम समेत प्रस्तुत गर्ने भएकाले त्यसलाई सहजीकरण समेत गराइने जानकारी दिनुभयो ।
सम्मेलनको तयारीमा सहजता होस् भन्ने उद्देश्यले भोला श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति तथा अनन्त वाग्लेको संयोकत्वमा प्रचार तथा प्रकाशन उपसमिति गठन भएको जानकारी पनि गराइयो । सम्मेलनमा अनेसास, पहिलो पाइला, थाङ फाउन्डेसन, शान्ति भोलेन्टियर्स, एसिया फाउन्डेसनलगायतका संस्थाहरु सह–आयोजकका रुपमा रहेको जानकारी दिइयो ।
उक्त सम्मेलनमा पुस्तक प्रदर्शनी, कथावाचन, बालचित्रकला, समूहगत छलफल लगायतका कार्यक्रमहरु हुने जानकारी मूल समितिका संयोजक विमल निभाले गराउनु भयो ।
अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी यस्तो
Facebook Comments Box