भवन र सडक विभागमा बहाली र विदाइको चटारो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकारको नेतृत्व परिवर्तन हुनासाथ मन्त्रीहरुले सचिव, महानिर्देशक र मातहतका कार्यालय प्रमुखहरु परिवर्तन गर्ने पुरानो रोग यस पटक पनि दोहोरिएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले एकै पटक २२ जना सचिवहरुको सरुवा गरेर मात्र नपुगी ५९ जना सहसचिवहरुको पनि सरुवा गरेका छन् । त्यसपछि मन्त्रीहरुले मन्त्रालयस्तरको निर्णयद्वारा विभागीय प्रमुखहरुको सरुवा गरेका छन् ।
यसैक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक परिवर्तन गरेका छन् । विभागमा कुमार घिमिरे करिव छ महिना अगाडिमात्र महानिर्देशक बनेर आएका थिए । अहिले मचाकाजी महर्जनलाई महानिर्देशक बनाएपछि उनले भाद्र १२ गते पद बहाली गरेका छन् ।
भद्र र शालीन प्रवृत्तिका महर्जन यसअघि विशेष भवन निर्माण आयोजना प्रमुख थिए । वरिष्ठहरुलाई पाखा लगाउँदै महर्जनले विभागको नेतृत्व सम्हालेका छन् । घिमिरे भवन प्रविधि तालिम केन्द्रमा सरुवा भएका छन् । भवन विभागकै उपमहानिर्देशक नारायण भण्डारीलाई बागमती एकीकृतमा सरुवा गरिएको छ ।
यता, सडक विभागका प्राविधिक सहसचिवहरु (सुई) को पनि सरुवा भएपछि अहिले बहाली र विदाइको चटारो शुरु भएको छ । सडक विभागअन्तर्गतको सम्भार महाशाखामा सरुवा भएका ई. अर्जुन अर्यालले भाद्र १७ गते जिम्मेवारी सम्हालेका छन् । संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा सरुवा भएका ई. शुभराज न्यौपानेले भाद्र १३ गते नै जिम्मेवारी सम्हालेका थिए । सरुवा भएका अन्य सुईहरुले पनि धमाधम जिम्मेवारी सम्हाल्ने क्रम चलिरहेको समाचार स्रोतले बताएको छ ।
यसैगरी भक्तपुर, ललितपुर, खुर्कोट, हेटौंडा, बुटवल, भरतपुर, चन्द्र निगाहपुर लगायतका ठाउँमा सरुवा भएका डिभिजन प्रमुख र योजना प्रमुखहरुलाई अहिले विदाई र बहालीको चटारो परेको छ । वर्षायाममा विग्रिएका सडकहरु मर्मत सम्भार गर्नुपर्नेबेलामा प्रमुखहरु नहुँदा समस्या भएको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *