चाडपर्व नजिकिँदै भौतिक मन्त्रीको अग्निी परीक्षा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालीहरुको महान चाड दशैं, तिहार र छठपर्व नजिकिँदै छ । दशैं आउन एक महिना पनि छैन । दशैं तिहारमा करिव २५–३० लाख मानिसले राजधानी छाडी आफ्नो घर फर्कदैछन् । यस्तो अवस्थामा राजधानीबाट बाहिरिने मुख्य सडक नागढुंगादेखि मुग्लिन सम्मको ९४ किलोमिटर सडक विस्तार गर्ने क्रममा यात्रुहरु सास्ती बेहोर्दै आइरहेका छन् । यो सडकको ठेक्का २०७८ सालमा लागे पनि कामचोर ठेकेदार र कमिशनखोर कर्मचारीका कारण सम्पन्न हुन सकेको छैन । जसले गर्दा यात्रुहरुलाई यात्रा कष्टकर बन्दै आइरहेको छ ।
उता आबुखैरेनीदेखि पोखरासम्मको ८० कि.मी. सडकको पनि अवस्था वयान गरी साध्य छैन । यो सडकको पूर्वीखण्डमा भर्खर सिडिई प्रकाश भण्डारी सरुवा भएर गएका छन् । पश्चिम खण्डका सिडिई राजेश यादवको लाहुरे प्रवृत्तिले सडकको अवस्थामा खासै सुधार नभएको जानकारहरुले बताएका छन् ।
त्यसैगरी नारायणगढ–बुटवल सम्मको सडकको त कमिशनखोर सिडिइहरुका कारण गति लिन सकेको छैन । यात्रुहरुलाई सुविधाभन्दा सास्तीपूर्ण बन्न शुरु गरेको अर्को सडक हो– बुटवलदेखि गोरुसिंगेसम्मको ५० कि.मी. सडक । यो सडक पनि भत्काउन शुरु गरिएको छ जसका कारण यसपालीको चाडपर्वमा यात्रुहरुले सास्ती पाउने भएका छन् ।
यसैगरी पूर्वी नाका अरनिको राजमार्ग पनि विस्तार गर्ने क्रममा रहेकाले यात्रुहरुले आरामदायी यात्रा गर्न नसक्ने समाचार श्रोतले जानकारी दिएको छ ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भाद्र २३ गते उपत्यकाका सडकको खाल्डाखुल्डी दशैं अगाडि नै पुर्नु र खाल्डाखुल्डीरहित नेपाल बनाउने अभियानमा जुटेको बताएका छन् । राजधानी बाहिरको सडकको अवस्था मन्त्री दाहाललाई गिज्याइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भद्र एवं सालिन प्रवृत्तिका मन्त्री र सुधारवादी तथा मन्त्रालय बुझेका सचिव हुँदा पनि सडकको अवस्थामा सुधार हुन नसक्नुलाई विडम्बना ठानिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *