चाँगुनारायणमा भक्तजनको भीड

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा मंगलबार ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन् । हरिबोधिनी एकादशीको दिन पारेर चाँगुनारायण मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको सो नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिएका छन् ।
यसका लागि मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहान तीन बजेदेखि नै मन्दिर खुला गरिदिएका थिए । चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रुपमा चाँगुनारायणलाई पुजिँदै आइएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेको छ । भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन हरिबोधनी एकादशीका दिन गरेमा पुण्यप्राप्ति हुने धार्मिक मान्यता छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवाण विष्णु हरिबोधनी एकादशीका दिन जागा हुनुहुने भएकाले विशेष पूजाअर्चना गरी मनाइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *