हेटौंडा/ नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यसप्रति असन्तुष्टि भने कायमै छ । मंगलबार महासंघले आधिकारिक सदस्यहरु भनी नामावली सार्वजनिक गरेकै दिन असन्तुष्ट पत्रकारहरुले यहाँस्थित पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सक्रिय पत्रकारलाई महसंघको सदस्य हुनबाट विमुख गरिएको भन्ने आरोप लगाउँदै प्रेस चौतारी मकवानपुरले तालाबन्दी गरेको हो । पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा तालाबन्दी गरिएको चौतारीले जनाएको छ । पत्रकार नै नरहेका व्यक्तिहरुको सदस्यता खारेज, सक्रिय पत्रकारलाई सदस्यता वितरणसहितको माग गर्दै तालाबन्दी गरेको जनाइएको छ ।
वास्तविक पत्रकारहरुलाई सदस्यता नदिइएसम्म निर्वाचनको कुनै पनि गतिविधि नगर्न चौतारीको मकवानपुर शाखाले माग गरेको छ । यथास्थितिमा निर्वाचन गर्न खोजे सशक्त बहिस्कार गरिने चेतावनी पनि चौतारीले दिएको छ ।
यसैबीच महासंघको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार आज मंसिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गरिने कार्यक्रम राखिएको छ । यसैगरी मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने तथा मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने तालिका सार्वजनिक भएको छ ।
यसैगरी प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते, जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई महासंघले अनुरोध गरेको छ ।
पत्रकार महासंघको निर्वाचनप्रति असन्तुष्टि
Facebook Comments Box