जोखिमपूर्ण क्षेत्रमा लगानीः सचेतना जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)
रुषा थापा

वर्तमान सरकारमा नेकपा (एमाले) का अध्यक्ष समेत रहेका खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री छन् । सोही दलका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री छन् । एमालेकै कार्यकर्ता भन्ने आरोप खेप्दै आएका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर छन् । विडम्बना, सरकार सञ्चालन र अर्थतन्त्र चलायमान बनाउने मुख्य भूमिकामा एउटै दलका नेता, कार्यकर्ता हुँदा पनि देशको अर्थतन्त्र दिनप्रति दिन नाजुक अवस्थामा पुगेको छ ।
बजार व्यापक मन्दीमा छ । घरजग्गा, गाडी, शेयर, व्यापार व्यवसायलगायतमा लगानी गरेका अधिकांश डुबेका छन् । सहकारी भाग्यो । करोडौं बचतकर्ताको रुवाबासी गरायो । लघुवित्त र फाइनान्सले पनि बचतकर्ताको बिचल्ली बनायो । अहिले बैंकमा पनि समस्या देखिन थालेको छ । सहकारीकै हालत बैंकको पनि हुने बजारमा चर्चा छ ।
चेक बाउन्स र कालोसूचीमा पर्नेहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । हरेक दिन कोही न कोही चेक बाउन्समा समातिएका हुन्छन् भने कालोसूचीमा पर्ने क्रम पनि जारी छ । ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले घरजग्गालगायत धितो लिलाम गर्दा लाखौं सर्वसाधारण सडकछाप अवस्थामा पुगेका छन् । सहकारीले पैसा खाइदिँदा पनि करोडौं सर्वसाधारण घर न घाटको भएका छन् ।
केही वर्षयता बजारमा मन्दी छ । विशेषगरी मन्दीको असर घरजग्गा, गाडी र शेयर कारोबारमा परेको छ । व्यापार व्यवसाय पनि उत्तिकै घाटामा छन् । बजारमा लगानीकर्ताको अभाव छ । अहिले घरजग्गा, गाडी र शेयरमा लगानी गर्न चाहने कोही छैन । बेच्न चाहने भने यत्तिकै भेटिन्छन् । मन्दीका कारण घरजग्गा, गाडी र शेयरको मूल्य सस्तिदैँ गएको छ ।
यसको फाइदा सीमित व्यक्ति तथा दलालीहरुले उठाउन थालेका छन् । मानिसको मजबुरीको फाइदा उठाएर दलाली, माफियाहरुले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । यहाँ अधिकांश मानिसले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र शेयर किनेका थिए । अहिले बैंकको ऋण तिर्न नसकेपछि उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् ।
एकातिर ऋण तिर्न पैसा छैन, अर्कोतिर धितो बिक्री हँुदैन । फेरि बैंकको ऋण नतिर्नेबित्तिकै कालोसूचीमा परिहालिन्छ । त्यसैले, अहिले अधिकांश मानिसले सस्तोमा धितो बिक्री गर्न थालेका छन् । त्यसको फाइदा सीमित व्यक्तिहरुले उठाइरहेका छन् । बैंकको ऋण ५० लाख बाँकी छ र साढे दुई करोड पर्ने धितो भएमा उनीहरु डेढ करोड मै दिन तयार हुन्छन् ।
त्यसमा पनि ५० लाख तत्काल र बाँकी रकम दुई वर्षपछि दिने भनेर तमसुक गरिन्छ । यसैको फाइदा उठाएर दलाली, माफियाहरु धितो आफ्नो नाममा पास गर्छन् तर सम्झौता अनुरुप दुई वर्षपछि रकम दिदैँनन् । हिजो बैंक तथा वित्तीय संस्थाले घुसको आडमा आँखा चिम्लेर घरजग्गा, गाडी र शेयरलाई कर्जा प्रवाह गर्यो । एक करोड ऋण दिँदा दश लाख त घुसै खाने । सेवाशुल्क तीन प्रतिशतसम्म लिने । ब्याज १६ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । बैंकहरुले छिट्टै नाफा कमाउन घरजग्गा, गाडी र शेयरमा लगानी गरे ।
उनीहरुले सोचेनन् कि यसको मूल्य कृत्रिम रुपमा बढाइएको हो । घरजग्गा, गाडी र शेयरको मूल्य बढाउनुमा दलाली, भूमाफियाहरुको ठूलो हात छ । यिनीहरुले पाँच हजार रोपनीमा बिक्री नहुने खेतीयोग्य जमिन प्लाटिङ गरी आनाकै लाखौंमा बेचबिखन गरे । भारत र चीनमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर दशौं गुणा बढी मूल्यमा बेचे ।
यता, बैंकले सय रुपियाँ कित्तामा निष्काशन गरेको शेयर ३२ सय पु¥याए । दलालीहरुले घरजग्गा, गाडी र शेयरको मूल्य कृत्रिम रुपमा बढाइरहे अनि आम नागरिक र बैंक, वित्तीय संस्थाले मूल्य बढेको देखेर लगानी गर्न हानाथाप गरे । अहिले यसको मूल्यमा गिरावट आउँदा व्यक्तिदेखि बैंकसम्म चुलुम्मै डुबेका छन् ।
घरजग्गा, गाडी र शेयरमा लगानी गरेका धेरैले ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन् । कतिपय देशै छोडेर भागेका छन् भने कतिपय डिप्रेसनमा गएका छन् ।
यस्तै, बैंकबाट ऋण लिएर यो क्षेत्रमा लगानी गरेकाहरु पनि ऋण तिर्न नसकेपछि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेकै कारण ऊ राज्यबाट उपलब्ध सेवासुविधाबाट वञ्चित हुन्छ । बैंक खाता खोल्न पाउँदैन । न त विदेश जान पाउँछ । सरकारी सेवामा पनि प्रवेश पाइँदैन । यतिसम्म कि उसको तीन पुस्ताले यो भोग्नुपर्छ । सहकारीले करोडौं बचतकर्ताको खर्बौ रकम खाइदिएको छ । सहकारीको पनि लगानी घरजग्गा, गाडी र शेयरमै हो । बैंकको पनि सम्पूर्ण लगानी यही क्षेत्रमा रहेको छ । यसले अब बैंक पनि डुब्ने संकेत देखाएको छ ।
बैंकका बचतकर्ता पनि सहकारीकै बचतकर्ताको अवस्थामा पुग्ने देखिन्छन् । अहिले सरकार भन्छन्, ‘सहकारी सञ्चालक र संस्थाको नाममा भएको धितो बेचेर बचतकर्ताको रकम फिर्ता गछौं ।’ तर, धितो किन्छ चाँहि कसले ? त्यसमाथि धितोको मूल्य स्वाट्टै घटेको छ । करोडौंमा किनिएको घरजग्गा अहिले लाखमा बिक्री हुन्न । गाडी र शेयरको पनि यस्तै अवस्था छ ।
एकातिर किन्ने मान्छेको अभाव हुँदा अर्कोतिर धितोको मूल्य दिनप्रति दिन घट्दै गएको छ । अनि कसरी सरकारले बचतकर्ताको रकम फिर्ता गर्छ ? पछिल्लो समय पत्रपत्रिकामा बैंकले धितो लिलाम गरेको सूचना दिनहुँजसो देखिन्छ । हरेक पत्रिकामा बैंकको लिलामी सूचना भेटिन्छन् । बैंक धितो लिलाम गरेपछि त्यो बेचेर कर्जा उठाउँछ । तर, त्यो धितो किन्छ चाँहि कसले ? अहिले धितो बेच्ने बढिरहेका छन् । किन्ने भने शून्यझैं छन् । सरकारदेखि व्यक्ति, बैंक तथा वित्तीय संस्थाहरु धितो बेच्न लागिपरेका छन् । अनि किन्ने कसले ?
अर्थ मन्त्रालय र राष्ट्र बैंक समयमै चनाखो नहुँदा व्यक्तिदेखि बैंक, वित्तीय संस्था डुबेका हुन् । सरकारले करको लागि घरजग्गा, गाडी र शेयरमा लगानी गर्न दियो । यद्यपि, यो क्षेत्रमा लगानीका कारण डुब्न सकिन्छ भनेर सोचेन । घरजग्गामा कर्जा प्रवाह गर्दा सर्वसाधारण, बैंक वित्तीय संस्था डुबेका मात्र छैनन्, मुलुकको खेतीयोग्य जमिन सबै मासिएको छ ।
जसका कारण भविष्यमा भोकमारीको समस्या समेत निम्तिन सक्छ । यही क्षेत्रमा लगानीका कारण मुलुकको अर्थतन्त्र समेत संकटमा परेको छ । गभर्नर महाप्रसाद अधिकारीले नै घरजग्गा, गाडी र शेयरमा कर्जा प्रवाह गर्नु मुलुकको लागि ठूलो क्षति भएको स्वीकारेका छन् तर डुबेपछि थाहा पाएर के गर्नु ? घरजग्गा, गाडी र शेयरको मूल्य अझै कयौं वर्षसम्म बढ्दैन भनेर जानकारहरु बताउँछन् ।
यसले यो क्षेत्रमा गरिएको जोकोहीको लगानी नराम्ररी डुब्ने छ । अहिले बैंक घरजग्गा, गाडी र शेयरमा गरेको लगानी उठाउन सकिन्छ भनी ग्राहक खोज्दै हिँडिरहेको छ तर बैंक संकटमा परिसकेका छन् । त्यसैले, अब बैंकमा बचत गरेका सर्वसाधारण सचेत हुनुपर्छ । नत्र सहकारीको बचतकर्ताजस्तै अवस्था हुने छ । सहकारीका बचतकर्ता त डुबेहाले तर बैंकका बचतकर्ता होशियार हौं ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *