मुस्ताङ/ कारागार कार्यालय जोमसोममा रहेका कैदीबन्दीहरुलाई श्रीमद्भगवद्गीता यथारूप वितरण गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनानामृत संघ (इस्कोन नेपाल) को बागलुङ शाखाको आयोजनामा गीता जयन्तीको अवसर पारेर उनीहरुलाई वितरण गरिएको हो ।
देश–विदेशमा पनि कारागारमै गीता पढेरै धेरैले जीवन परिवर्तन गरेकाले सही जीवन जीउनकालागि सहयोग पुगोस् भन्ने भावनाले उनीहरुलाई गीताको पुस्तक वितरण गरिएको इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरिधारी दासले जानकारी दिए । गीतामा अर्जुनका माध्यमबाट भगवान् श्रीकृष्णले सिकाएको अस्तित्वको अर्थले धेरैको जीवन परिवर्तन गरेका कारण पुस्तक पढेर उनीहरुमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको बताइएको छ ।
सो अवसरमा इस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले नेपालमा द्वन्द्व, अराजकता, सम्बन्धमा तिक्तता र निराशा बढ्दै गएको बताए । उनले नेपाल लगायत विश्व समुदायमा गीताको ज्ञान एकमात्र आशाको किरण रहेको दाबी गरे । गीता जयन्तीको महिना पारेर इस्कोनले विश्वव्यापी रूपमा श्रीमद्भगवद् गीता वितरण कार्यक्रम– डिसेम्बर म्याराथन– लाई विशेष रूपमा मनाउँदै आएको छ ।