ऊर्जामन्त्रीलाई कार्यकारी निर्देशक घिसिङको चुनौती

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / ऊर्जा, सिचाई तथा जलश्रोत मन्त्री दीपक खड्कालाई यतिबेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घाँडो बनेका छन् । विवादित पृष्ठभूमिका उर्जामन्त्री खड्काले घिसिङलाई हटाउन जतिसुकै प्रपञ्च र षड्यन्त्र गरे पनि सफल हुन नसकेको बताइएको छ ।
मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुँदा प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले केही समयपछि लोडसेडिङ हटाई जनसमर्थन प्राप्त गरेका थिए । पछिल्लो समय विद्युतको महशुल नतिर्ने उद्योगीहरुको लाइन काट्न थालेपछि घिसिङ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र ऊर्जामन्त्री खड्काको निशानामा पर्दै आएका छन् ।
कार्यकारी निर्देशक घिसिङको दोश्रो कार्यकाल सकिन अब केही महिनामात्र बाँकी रहँदा ऊर्जामन्त्री खड्काले तेश्रो पटक स्पष्टीकरण सोधेर हुर्मत लिने काम गरिरहेका छन् । यसैबीच घिसिङले आफूलाई ऊर्जामन्त्री खड्काले केही गर्न नसक्ने भन्दै उल्टै चुनौती दिएपछि नतमस्तक बनेको जानकारहरुले बताएका छन् । ऊर्जा मन्त्रालयअन्तर्गतका विभाग र कार्यालय प्रमुखहरुको स्वेच्छाचारी ढंगले सरुवा गरी स्वार्थपूर्ति गर्दै आइरहेका मन्त्री खड्कालाई ऊर्जा सचिव सुरेश आचार्यले उचालेको आरोप लागेको छ ।
घाटामा गएको र टाट पर्न लागेको प्राधिकरणलाई कार्यकारी निर्देशक घिसिङले नाफामा लगेका थिए । प्राधिकरणको नाफा माथि मनपरी गर्न र ब्रम्हलुट मच्याउन मन्त्री खड्काले प्रबल अधिकारीलाई कार्यकारी निर्देशक बनाउन चाहेको समाचार श्रोतले बताएको छ । प्राधिकरणको मुख्य कार्यालयमा कार्यालय खोली आफ्ना पक्षका कर्मचारीहरुलाई घिसिङको विरुद्ध उचाल्ने काम गर्दै आएका मन्त्री खड्काको अशोभनीय कार्यप्रति नागरिकले रोष प्रकट गर्दै आएका छन् ।
उद्योगीहरुले बत्ती बालेबापत राज्यलाई तिर्नुपर्ने २२ अर्ब बढी रकम तिराउने पहल गरेका र कसिङर बनेका घिसिङलाई नेकपा (माओवादी केन्द्र) को दह्रो साथ र समर्थन भएकाले ऊर्जामन्त्री खड्काले चाहेर पनि केही गर्न नसक्ने चर्चा चलेको छ । यसबीच विद्युतको पैसा नतिर्नेहरुले नै लोडसेडिङको हल्ला चलाएको आरोप घिसिङले लगाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *