बालनाटक महोत्सवमा १४ वटा नाटक छनोट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । प्रदर्शनीकालागि भनी दुई दर्जन नाटक दर्ता भएका बताइएको छ । तीमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट गरिएका आयोजकले जनाएको छ ।
महोत्सवका संयोजक सविन न्यौपानेले प्रतियोगी तथा अप्रतियोगी नाटकको वर्गीकरण गरिएको सूचनासहित महोत्सव तालिका आगामी माघ २२ गतेभित्र प्रकाशन गरिने जानकारी दिए । महोत्सवमा होलि एञ्जल्स पब्लिक स्कुलको ‘तारेभिर’, सनसाइन इङ्गलिस बोर्डिङ स्कुलको ‘स्याडो’, आकाशगङ्गा इन्टरनेसनल स्कुलको ‘रक्त पासो’, दर्शना स्कुलको ‘को चोर’, हिले माध्यमिक विद्यालयको ‘अभागी आरन’ र भेलोसिटी स्कुलको ‘तुलसी’ छनौटमा परेका हुन् । यसैगरी समृद्धि स्कुलको ‘देउकी’ र ‘द अलकेमिष्ट’, मृगशिरा वोल्र्ड स्कुलको ‘लौरो’, काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको ‘खेल्ने बेला’, युनाइटेड युनिभर्सल स्कुलको ‘पढ्न त मन लाग्छ’, पिक प्वाइन्ट एजुकेसन नेटवर्कको ‘यशस्वी भवः’, वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको ‘रमेशको आशाको त्यान्द्रो राजु’ र शैली थिएटरको प्रस्तुत एउटा नाटक छनोट भएका जनाइएको छ ।
महोत्सवमा प्रदर्शनी हुने बाल लघु चलचित्रहरूका लागि अर्को सूचना प्रकाशन गरिने आयोजक संस्थाले जनाएको छ । फाल्गुन १ गतेदेखि शुरु भएर फाल्गुन ७ गते रातोपुलस्थित शैली थिएटर तथा कमलपोखरीस्थित रुसी सदन (रुसी सांस्कृति तथा विज्ञान केन्द्र) मा १६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी हुने कार्यक्रम छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *