काठमाडौं/ वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा उनको पुस्तक लोकार्पण भएको हो । योभन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’ सार्वजनिक भैसकेको छ ।
कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पूर्वमन्त्री एस.पी.कोइराला, वरिष्ठ गीतकार एवम् गीतकार संघका पुर्वअध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ गीतकार अमर बान्तुको उपस्थिति थियो । यसैगरी वरिष्ठ संस्कृतिविद् भक्त राई, हेमराज राई, वरिष्ठ गीतकार श्रवण मुकारुङ, वरिष्ठ गायक दिलेन्द्र मुकारुङ, वरिष्ठ गीतकार शितल कादम्बिनी, चर्चित कवि गीतकार चन्द्र रानाहोङ्छा, चर्चित गीतकार विपिन किरण लगायत पनि कार्यक्रममा थिए ।
करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवनयापन, लोक सन्दर्भमा रहेको छ । कार्यक्रममा पुस्तकबारे बोल्ने क्रममा विशेष अतिथि रहेका गीतकार संघ पूर्व अध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणि देवकोटाले ‘शुभ मुकारुङ चिनाइ रहनुपर्ने नाम होइन, नातिकाजिले समेत उहाँको शब्दमा संगीत गरेका छन् । उहाँको यो दोस्रो पुस्तक अवर्णनीय छ । गीतकार संघ आज यो उचाइमा आउनु पनि उहाँको ठूलो हात छ । लेखन यात्रामा बधाइ सहित अझ शुभकामना’ भने ।
यसैगरी, वरिष्ठ गीतकार अमर बान्तुले ‘गीतकार शुभ मुकारुङ र ममा उमेरले म जेठो हुँ, तरसिर्जनाको हिसाबले मभन्दा जेठा हुनुहुन्छ । मैले उहाको सिर्जनाबारे मैले बोल्ने हैसियत छैन तरउहाँको एउटा भनाइ म कुनै श्रष्टादेखि प्रभावित भएर लेख्दिन आफै लेख्छु भन्ने कुरादेखि म प्रभावित भएँ । आज यसरी नै उहाँको आफ्नै क्षमताको सिर्जना निश्चित छ ।’ भन्दै बधाइ शुभकामना’ व्यक्त गरे ।
त्यसैगरी, अर्का वक्ता वरिष्ठ संस्कृतिविद् भक्त राईले ‘कुनै पनि क्षेत्रमा काम गर्न जोखिम मोल्नै पर्छ । उहाँले साहित्यिक यात्रामा जिन्दगीलाई जोखिममा मोल्नु भयो । आजको यो चर्चा र उपलब्धी त्यसैको परिणाम हो।कुनै बेला घरायसी प्रसंगमा मैले सोधेको थिएँ तपाई केमा व्यस्त हुनु भयो? उत्तरमा आयो म ‘यतै अल्मलिए ।’ साँच्चै आज यो ऐतिहासिक अवर्णनीय सिर्जना देखेर म जिल्ल परेँ । योभन्दा जिन्दगीको कमाइ अरु हुनै सक्दैन । बधाइ शुभकामना’ भने ।
त्यस्तै, विशेष अतिथि वरिष्ठ गीतकार तथा पूर्वमन्त्री एस.पी.कोइरालाले ‘गीतहरुलाई समाजले मनोरंजनको साधन मात्र भनेर हेला गरेको पाइन्छ, यो गलत छ । गीत समाजको शक्तिशाली आँखा, माध्यम हो । यस कुरालाई शुभ मुकारुङको सिर्जनाले सावित गर्दछ । करिब तीन दशकको साहित्यिक यात्रामा अझ यो गीतिसंग्रहले समाज स्पष्ट कोर्दछ । भोजपुरको माटोको बिरुवा हो उहाँ’ भन्दै बधाइ शुभकामना प्रस्तुत गरे ।
प्राज्ञ तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले ‘यो पुस्तकले शुभलाई अल्मलाएको होइन, उभाएको छ । मैले समाजको चेत खोल्नुपर्छ भन्ने जिम्मेवारी प्रदान गरेको छ । अझ बधाइ शुभकामना’ व्यक्त गरेका थिए ।
आफ्नो सिर्जनाबारे बोल्दै स्रष्टा मुकारुङले ‘यतै अल्मलिएँ भन्ने साहित्यिक सिर्जना क्षेत्रमै अल्मलिए भन्ने पनि हो । गीतको एउटा शीर्षक पनि हो । मैले मेरो सिर्जनाबारे आफैले यस्तो लेखे उस्तो लेखे भन्न मिल्दैन, त्यो यहाँहरुले अनि दर्शक स्रोताले भन्ने कुरा हो । मैले जीवनयापन र लोक सन्दर्भमा लेखेको छु, सधै हौसला, सुझाव दिनु भएकै छ, धन्यवाद, यस पटक पनि हौसला, सुझावको साथसाथै सुझाव, कमिकमजोरी पनि पाउँछु भन्ने आशा गर्दछु’ भन्दै गीतकार संघ नवनिर्वाचित पदाधिकारीहरुको नाम लिदै बधाइ, शुभकामना, धन्यवाद प्रदान गरेका थिए ।
शुभ मुकारुङको गीतीसंग्रह विमोचन…
Facebook Comments Box