प्राप्ति सुवेदीलाई ‘पराक्रम बालप्रतिभा पुरस्कार’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ साहित्यसेवी रमा अधिकारी र महेश पौड्यालले आफ्ना दिवंगत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गरेको ‘पराक्रम बालप्रतिभा पुरस्कार’ वर्ष २०८१ का लागि धादिङकी प्रतिभाशाली बालिका प्राप्ति सुवेदीलाई प्रदान गरिने भएको छ ।
पर्वतीय साहित्य समाजद्वारा काठमाडौंमा बसेको प्रतिभा छनोट समितिको बैठकले लेबोरेटरी स्कुल, कीर्तिपुरमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा सम्पन्न बैठकले दृष्टिविहीन भएर पनि अध्ययन, कला, साहित्य सिर्जना र संगीतमा उत्कृष्ट प्रतिभा देखाउँदै आएकी सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समितिकी सदस्य–सचिव साहित्यकार भवानी खतिवडाले जानकारी दिइन् ।
पुरस्कारको राशि १५ हजार रुपियाँ रहेको छ । यो आगामी फागुन महिनाको कुनै उपयुक्त दिनमा प्रदान गरिने बताइएको छ । विगत सात वर्षदेखि प्रदान गरिँदै आएको यस पुरस्कारले विभिन्न चुनौतीको सामना गर्दै पनि आफ्नो क्षेत्रमा उत्कृष्ट प्रतिभा देखाउने बालबालिकालाई सम्मान गर्दै आएको छ । यसअघि यो पुरस्कार दोलखाका कवि प्रतिभा दर्शन के.सी., काभ्रेपलाञ्चोककी तारा तामाङ, चितवनका प्रेम चेपाङ, भक्तपुरका एलिशा फुयाल र योगेश राई तथा चितवनकै मिनुमाया प्रजालाई प्रदान गरिसकिएको जनाइएको छ ।
यी बालबालिकाले शारीरिक अशक्तता, आर्थिक अभाव वा अन्य प्रतिकूल परिस्थितिका बाबजुद आफ्नो प्रतिभा प्रदर्शन गरी प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् । प्राप्ति सुवेदीको प्रतिभा र दृढताले पनि यस पुरस्कारको मूल्य र महत्वलाई थप उजागर गरेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *