अनाथ बालबालिकालाई सहयोग

Nayabimarsha (Weekly Newspaper from Nepal)
सन्जिव दुलाल

भक्तपुर/ भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २३ जना अनाथ बालबालिका अलि फरक कार्यक्रमको कुरालाई लिएर आतुर थिए । कक्षा ७ मा पढ्ने लक्ष्यजीत मल्ल र कक्षा ५ मा पढ्ने समृद्धि मल्लले उनीहरुका लागि भनी शैक्षिक सामग्रीसहित विभिन्न आवश्यक सामानहरू प्रदान गर्ने कार्यक्रम रहेकाले त्यसलाई विद्यालयका विद्यार्थीले अलिक फरक खालको मानिरहेका थिए ।
काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु–बहिनीले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगदसमेत सहयोग गरे । उनीहरूको यो कार्य स्वर्गीय हजुरआमा लोचनाकुमारी मल्ल (विद्यालयकी पूर्व प्रधानाध्यापिका) को स्मृतिमा गरिएको हो । विद्यालयकी प्रधानाध्यापिका न्हुछेंलक्ष्मी गोराका अनुसार विद्यालयमा नर्सरी, केजी र कक्षा १ गरी तीन कक्षामा अध्ययनरत २३ जना सबै बालबालिका आमाबुबा विहीन अनाथ हुन् । यी विद्यार्थीहरू विद्यालयमै बस्छन्, खान्छन् र पढ्छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए । उनले सानै उमेरमा सहयोगको महत्व बुझेर गरेका यी बालबालिकाहरूको योगदान प्रेरणादायी भएको बताए । सानो उमेरमै सामाजिक उत्तरदायित्व बोध गर्दै गरेका लक्ष्यजीत र समृद्धिले यसअघि पनि विभिन्न विद्यालयहरूमा सहयोग गरिसकेका छन् । समृद्धिले “दानको महत्व बुझेकाले आफूभन्दा साना बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको” बताइन् ।
विद्यालयमा सरकारद्वारा नियुक्त तीन शिक्षक (दुई जना दृष्टिविहीन) र तीन जना सहयोगी कर्मचारी कार्यरत छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूले सहयोग पाउँदा निकै खुशी भएका थिए । कार्यक्रमको संयोजन प्रेमध्वज मोक्तानले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *