काठमाडौं/ नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रविन तामाङको लघुचलचित्र ‘उडान’ ले प्रथम स्थान हासिल गरेको छ ।
नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत ५० ओटा आलेखहरु प्राप्त भएका थिए । तीमध्ये छनोट भएका उत्कृष्ट १० प्रतियोगी कथाले लघुचलचित्र निर्माणमा भाग लिएका थिए ।
प्रधान सेनापति अशोकराज सिक्देलको उपस्थितिमा आर्मी हेडक्वाटर भद्रकालीको सभाहलमा सम्पन्न भएको लघुचलचित्र प्रतियोगितामा ‘उडान’ ले दुई लाख नगद पुरस्कार प्राप्त गरेको थियो । विगतमा नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०७८ मा पनि तामाङको लघुचलचित्र ‘कस्तुरी’ प्रथम र ‘डोल्मा’ ले तेस्रो स्थान हासिल गरेका थिए ।
लघुचलचित्र ‘उडान’ मा आर्मी जङगल र जंगली पैदावारको सुरक्षा गर्नको निमित वन्यजन्तुको संरक्षणको निमित्त निकुञ्जमा तैनाथ रहन्छ । निकुञ्ज नजिकैको बस्तिको एक बालिका निकुञ्जकै जनावरबाट बाली बचाउनको लागि कुर्नुपर्ने हुन्छ । यहि समस्या र समाधानको वरिपरि कथाबस्तु रहेको छ । चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने बाल कलाकार सुपृम राईको अभिनयको धेरै नै प्रशंसा पाएको छ ।
ग्याल्जेन कृयसनको प्रस्तुतिमा बनेको लघुचलचित्र ‘उडान’ मा मिस तामाङ, रिया लामा, रमिला मोक्तान, सुनिता श्रेष्ठ, टोनि तामाङ, विकास थापा मगर, वीरबल घले, सुवास राई, शुक्रराज मगरको अभिनय रहेको छ । ‘उडान’को कास्टिङ डाइरेक्टर सुरेन्द्र क्षत्री हुन् भने छायांकन विनोद बलले गरेका छन् ।
कृयटिभ डिरेक्सन बाबुराम निरौलाले गरेका छन् । मुख्य सहायक निर्देशक अन्सुल डाँगी, पञ्कज सार्की रहेका छन् । भरत महरले सेट डिजाइन गरेका हुन् । पोस्ट प्रोडक्सन रिमा फिल्मस्ले गरेको ‘उडान’ को सम्पादन मिराज अर्यालले गरेका हुन् । लघुचलचित्रको साउन्ड डिजाइन तथा पाश्र्व गाएन मनोज खड्काले गरेका हुन् ।

लघुचलचित्र प्रतियोगितामा ‘उडान’ विजेता
Facebook Comments Box