नेता डंगोलको निधन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको गएको शुक्रबार ७७ वर्षको उमेरमा मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा डंगोलको निधन भएको हो ।
डंगोल लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित थिए । नेपाली कांग्रेसको नेता समेत रहेका डंगोलको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । टेकू दोभानमा उनको दाहसंस्कार गरिएको थियो । नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत रहेका स्वर्गीय डंगोल वि.सं. २०४३ मा काठमाडौं नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । डंगोल २०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित र २०६४ मा संविधान सभाको सदस्य भएका थिए ।
लोकतन्त्र वहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उनले जनआन्दोलनको नेतृत्व गरेका थिए । उनको निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौं महानगरपालिकाले एक दिन महानगरपालिकाअन्तर्गतका सबै कार्यालयमा विदा दिई शोक मनाएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *