सन्जिव दुलाल
भक्तपुर/ भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएको हो । आगामी वैशाख १९ र २० गते दुई दिन जगातीमा उक्त प्रतियोगिता गर्न लागेको सङ्घले जानकारी दिएको छ ।
यस प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढी जिल्लाबाट करिब १२० जना खेलाडीहरू सहभागी हुने अनुमान गरिएको बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट राष्ट्रियस्तरका उत्कृष्ट खेलाडीहरू पहिचान गरी प्रशिक्षण दिई भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने खेलाडी छनोट गर्ने उद्देश्य रहेको समेत जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने बताइएको छ । प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलव ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ । यसैगरी महिलातर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) समेत खेलाइने अध्यक्षले जानकारी दिनुभएको छ । यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उहाँले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताउनुभयो ।
खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर लागू हुने गरी रु.२ लाखसम्मको बीमा व्यवस्था गरेको छ । प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घद्वारा स्वीकृत प्–१ नियमावली अनुसार सञ्चालन हुनेछ ।
