‘मनका तरङ्ग’ को लोकार्पण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ कवि तथा गीतकार अलका मल्लको कृति ‘मनका तरङ्ग’ को लोकार्पण गरिएको छ ।
मल्लको सिर्जनाको प्रशंसा गर्दै लोकार्पण समारोहमा उपस्थितहरुले यसलाई मौलिक र सरल शैलीमा लेखिएको बताउनु भयो । प्रा.डा. सन्तकुमार वस्तीले कृतिमा रहेको मौलिकता र सरलताको प्रशंसा गर्दै यसले पाठकहरूको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा संविधानविद् एवम् वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले ‘मातृत्व’ शीर्षकको कविता वाचन गरी कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो । गायक दीप श्रेष्ठले कृतिमा रहेको एउटा गीत गाउने भन्दै, यस्तो खालको कृति ल्याउनु होला भन्ने कुरा आफूले नसोचेको बताउनुभयो ।
यसैगरी गजलकार ध्रुव जोशीले आफ्नो गजल सुनाउनुभयो । साहित्यकार तथा सिनेकर्मी राजेन्द्र शलभले ‘बा’ शीर्षकको मार्मिक कविता वाचन गर्नुभयो । साहित्यकार शैलेन्द्र साकारले कृतिको परिचर्चा गर्दै कवि मल्लले प्रेम र प्रकृतिलाई सुन्दर र मार्मिक रूपमा उठाएको बताउनुभयो । साहित्यकार विश्वविमोहनले ‘स्तब्ध पृथ्वी’ शीर्षकको कविता वाचन गरी श्रोताहरूलाई भावुक बनाउनुभएको थियो ।
प्रकाश सायमी र नेपाल उर्दू अकाडेमीका अध्यक्ष इम्तियाज वफा अग्रज साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नरेश भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार, नियात्राकार, कलाकार, संगीतकार, गायक लगायत विभिन्न विधाका व्यक्तित्वहरूको उपस्थिति थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *