कार्थक र खनाल सम्मानित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ पर्वतीय साहित्य समाज नेपालको आयोजनामा एक समारोहबीच दुई प्रतिभावान् स्रष्टालाई सम्मान गरिएको छ । भारतका कीर्तिमानी स्रष्टा सलोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ र युवा कूटनीतिज्ञ तथा यायावर श्री प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमानी यायावर सम्मान’ प्रदान गरिएको हो ।
भारतीय अकादमी पुरस्कार विजेता सलोन कार्थक नियात्रा लेखनमा उल्लेखनीय योगदानका लागि सम्मानित हुनुभएको हो । उहाँले नियात्रा लेखनमार्फत भारतीय साहित्यमा नयाँ आयाम थप्नुभएको छ ।
यसैगरी, श्री प्रदीप खनाललाई छवटा देश (नेपाल, भारत, चीन, पाकिस्तान, बाङ्लादेश र श्रीलङ्का) का चार सय पचासभन्दा बढी तीर्थस्थलको भ्रमण गरी एशियाली रेकर्ड बुकमा नाम लेखाउन सफल भएकोमा ‘प्रतीक ढकाल कीर्तिमानी यायावर सम्मान’ प्रदान गरिएको हो । उहाँको यो कीर्तिमानले आदि गुरु शङ्कराचार्य र बाबा नानकको तीर्थयात्राको कीर्तिमानलाई समेत उछिनेको छ । सम्मान ग्रहण गर्दै खनालले यो सम्मानले आफूलाई अकल्पनीय खुशी दिएको बताउनुभयो । उहाँले यसरी आफ्नो यात्रालाई सम्मानित हुने मुकाममा पुग्ला भन्ने कल्पना समेत नगरेको बताउनुभयो ।
जयन्ता–पवित्रा ढकाल स्मृति कोषका संरक्षक तथा पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नियात्राकार घनश्याम राजकर्णिकार प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा. सावित्री कक्षपती, नियात्राकार तथा कथाकार इल्या भट्टराई, सर्भेयर तथा लेखक खिमलाल गौतम, पूर्वप्रशासक तथा उपन्यासकार केदार पनेरू, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको उपस्थिति थियो । यसैगरी कवि दिनेश अधिकारी, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं, आरोहण व्यवस्थापन संघका महासचिव तथा पर्यटनविद् ऋषिराम भण्डारी, पुरस्कार संस्थापक सदस्य प्रज्ञा ढकाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि राजकर्णिकारले प्रतीक ढकालजस्ता हिमाल विषयक नियात्राकारको नाममा पुरस्कार स्थापना गर्ने परिवारलाई धन्यवाद दिँदै सम्मानित व्यक्तित्वहरुलाई बधाई दिनुभएको थियो। अध्यक्ष ढकालले पुरस्कार ग्रहण गर्न दार्जिलिङबाट आउनुभएका कार्थकप्रति आभार व्यक्त गर्दै आफ्नी जीवनसंगिनी लक्ष्मी ढकाल र उपस्थित सबैलाई धन्यवाद दिनुभयो। झन्डै सय जना स्वनामधन्य साहित्यकारहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *