हितानको कृतिलाई अन्तर्राष्ट्रिय पुरस्कार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
गैर आवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशिको सो पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको जनाइएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति, प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गरेका थिए । प्रमुख अतिथि काइँलाले मास्टर मित्र सेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार हितानलाई बधाई पनि दिए ।
नेपाली सेनाका अवकाशप्राप्त रथी साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, प्रहरीका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको दाबी गरे । आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको जनाए । गैर आवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष एवम् अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभाहरूलाई समेट्दै प्रोत्साहन गर्न यो पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिएका थिए ।
यसैगरी कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको कलमले मल्हम लाउन सिपालु भएको बताए । पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्र सेन थापाको जीवनीमाथि लामो खोज र अनुसन्धानपछि सो कृति प्रकाशन गरेको जानकारी दिए । उनले यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरणा मिलेको बताए ।
कार्यक्रममा साहित्यकारहरू प्रतीक ढकाल, भवानी खतिवडा, कृष्ण बाउसे, सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक दुर्जकुमार राई लगायतको उपस्थिति थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *